व्यापारीले पसल खोल्न थालेपछि तीन जिल्लाको सिडियोद्धारा छलफलका लागि बैठक आवहान

२२ जेठ, काठमाडौं । नेपाल व्यापार महासंघले एकतर्फी निर्णय गरी पसल खोल्न आवहान गरे अनुसार आज देखि बिहान ११ बजेसम्म सबै खालका पसल खोल्न अनुरोध गरे अनुसार आजदेखि पसल खोल्न थालेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ ।

पसलहरु एकतर्फी रुपमा खुलेपछि काठमाडौंका सीडीओको आह्वानमा संयुक्त बैठक बस्न लागेको हो । बैठक अहिले ११ बजे जिल्ला समन्वय समिति काठमाडौंको हलमा बोलाइएको छ ।

व्यापारीहरुले गरेको निर्णयकै विषयमा केन्द्रित रहेर छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । अब लकडाउनका विषयमा के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने उनले बताए ।

एकतर्फी निर्णय गरेर पसल खुला गरेका व्यापारीहरुलाई पनि सरकारले वार्तामा बोलाइसकेको उनले बताए । दुई महिनाभन्दा बढी समयसम्म भएको लकडाउनलाई पूर्णपालना गरेको र अब अर्को निर्णय नहुञ्जेलसम्म पसलहरु बन्द गर्न आग्रह गरेको समेत उनले बताए ।