केही वर्षयता मुलुकमा मागेर गुजारा गर्नेहरुको संख्या ह्वात्तै छ । सडक छेउछाउ, सार्वजनिक स्थल, आकाशे पुलमा लाम लगाएर माग्न बसेको देखिन्छ । यता, घरघरमा पनि माग्न आउनेको संख्या उत्तिकै छ । कोही मिर्गौला पीडित भन्दै माग्न आउँछन् त कोही अन्य समस्या देखाउँदै । हातमा एउटा कागज बोकेर माग्दै हिँड्ने उनीहरु वास्तवैमै पीडित हुन् त ? कसले खोताल्ने ? सरकारलाई मतलब नै छैन् । मागेर हिँड्नेहरु छ्याप्छ्याप्ती भेटिन्छन् । कोही उपचार गराउन नपाएर भन्छन्, कोही खान नपाएर । उनीहरु साँच्चिकै मिर्गौला पीडित हुन् भने त सरकारले निःशुल्क उपचार गरिदिनुपर्यो ।
उपचारका लागि मागेर हिँड्नुपर्ने भए नेपालको संविधानले सुनिश्चित गरेको स्वास्थ्यको हक कार्यान्वयन भयो त ? उनी कसरी रोगी भयो ? उनको आम्दानीको स्रोत के छ ? उपचारको क्रममा कति सम्पत्ति सकायो ? थप उपचार गर्न सक्छ कि सक्दैन् ? यसको अनुगमन गर्ने जिम्मा सरकारको हो ।
वास्तवमै ऊ पीडित छ भने सरकारले निःशुल्क स्वास्थ्योपचारको व्यवस्था मिलाइदिनुपर्यो । मागेर उपचार गर्नुपरेमा देशमा राज्य भएको काम नै लागेन् नि । घर जलेको भन्दै माग्दै आउनेहरु पनि असंख्य छन् । मठमन्दिर, सार्वजनिक स्थल जताततै मागेर बसेको देखिन्छ । भुरादेखि बुढासम्म मागिरहेका हुन्छन् । उनीहरु सडकमै खान्छन्, सडकमै सुत्छन् । पछिल्लो समय सार्वजनिक यातायातमा चढेर पनि माग्नेहरु पनि यत्तिकै छन् । हातमा कागज बोकेर हिँडेका उनीहरुले यात्रुलाई त्यो कागज बाँड्छन् र पैसा माग्छन् । कोही मिर्गौला पीडित भन्छन्, कोही कान नसुन्ने भन्छन् । माग्ने आउने सबैको आ–आफ्नै व्यथा छ ।
यता, गन्धर्वहरुले पनि गीत गाउँछन् र जबरजस्ती पैसा माग्छन् । दिनु नदिनु स्वःइच्छाको कुरा हो । तर, उनीहरु यात्रुसँग जबरजस्ती गर्छन् । माग्ने नाममा व्यापक बेतिथि मौलाएको छ । मिर्गौला पीडितलाई सहयोग भन्दै टेम्पो, स्कुटरमा स्पीकर बोकेर दुई–तीन जना आउँछन् । उनीहरुले माइक बजाएर पैसा माग्छन् । यतिसम्म की स्कुल जान लागेका विद्यार्थीसँग पनि उनीहरु पैसा माग्छन् । मिर्गौला पीडित भन्दै कोही स्पीकर बोकेर गाडीमा आउँछ ? यो त व्यापार भयो । पैसा उठाउने अनि लागेर खाने । माग्ने नाममा ठगीधन्दा चलिरहेको छ । प्रशासन कहाँ छ ?
कोहीकोही सडक छेउछाउ बोरा लिएर बस्छन् । उनीहरुको पेशा नै माग्ने । बिहान उठ्यो, सडकमा आएर बस्यो, दिनभर पैसा बटुल्यो, घर गयो । उनीहरुले मागेरै एकदिनमा दशौं हजार कमाउँछन् । उनीहरुलाई माग्ने बानी नै लागिसक्यो । काम पनि गर्न नपर्ने, मागेर दिनकै हजारौं बटुल्ने । यस्तै अवस्था रह्यो भने जो पनि सडकमा माग्न आउँछन् । केही वर्षपछि नेपाल माग्नेको देश बन्छ । सरकारले यसलाई बेलैमा नियन्त्रण गर्नुपर्यो । नत्र, यहाँ माग्नेहरुको बिगबिगी हुन्छ । माग्न बसेका उनीहरु खुट्टामै झुत्तिन आउँछन् । ससाना बालबालिकाहरु सडकमा मागिरहेका हुन्छन् ।
उनीहरुको छेउछाउबाट हिँड्नुपर्छ, खुट्टा समात्छन्, झोला तान्छन् । पैदलयात्रीलाई बाटोमा हिँड्नसमेत सास्ती भइसकेको छ । गरिब भएनि धनी भएनि नागरिक हो । हरेक नागरिकप्रति राज्यको जिम्मेवारी बराबर हुनुपर्छ । तर, सडकमा बस्नेहरुका लागि यहाँ राज्य नै भएन् । जनताले तिरेको करबाट तलब खुवाएर हरेक स्थानीय तहले नगर प्रहरी राखेको छ । ती नगर प्रहरी देखाउनका लागि राखेको हो ? नगर प्रहरीको काम सडकमा हिँड्ने हो । नगरभित्र के भइरहेको छ ? हेर्ने हो । तर, केही नै गर्दैनन् । संविधानले हरेक नागरिकको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्यको अधिकार सुनिश्चित गरेको छ ।
तर, मागेर गुजारा गर्नेहरुले त्यसको प्रत्याभूति गर्न पाएका छैनन् । सरकारले उनीहरुलाई कुनै व्यवस्थापन गरिदिनुपर्ने
हो । सडकमै जन्मिने र सडकमै मर्ने अवस्थाको अन्त्य गर्नुपर्यो । पछिल्लो समय माग्ने मान्छेहरु ५० रुपैयाँभन्दा घटी लिन मान्दैनन् । उनीहरु मुख फोरेरै भन्छन् । कसैसँग गाडी भाडा हुँदैन् । पाँच–१० रुपैयाँ दियो भने उनीहरु लिनै मान्दैनन् । पैसा दिएन् भने उनीहरु गाली गर्छन् । सहयोग त जति सकिन्छ, त्यति दिने हो । तर, अहिले त मुख फोरेरै माग्ने सिस्टम आयो । हरेक स्टपमा माग्ने मान्छे चढ्छन् । कतिलाई दिन सकिन्छ ? अब त सार्वजनिक यातायात चढ्न पनि डरमर्दो भइसक्यो ।
कहिलेकाहीँ ठिक्क गाडी भाडा मात्र बोकेर हिँडेको हुन्छ । उनीहरुलाई दियो भने आफू पैदलयात्रा गर्नुपर्यो । सहचालकले मिलेमतोमा माग्ने मान्छे चढाउँछन् । त्यसबापत उनीहरुले पैसा लिन्छन् । केही दिनअघिको घटना हो माग्ने मान्छे कोटेश्वरबाट चढे । उनीले चार–पाँच सय रुपैयाँ उठाए । लोकन्थली ओर्लिदाँ उनले सहचालकलाई ५० रुपैयाँ दिए । यसले त सहचालककै मिलेमतो प्रष्टै देखिन्छ । आधा किलोमिटरमै ५० आउने भएपछि सहचालकले किन नचढाओस् ? नगर प्रहरी त नाम मात्रको भइहाले । सडकमा ट्राफिक प्रहरी उभिन्छन् । तर, उनीहरुलाई यसतर्फ चासो छैन् ।
माग्नेहरु यस्ता पनि छन् कि दिनभर माग्छन्, बेलुका भट्टी पसलमा गएर सिद्याउँछन् । भोलि फेरि सडकमा । मागेको पैसा पनि सिद्धियो, ज्यान पनि । सरकार एकदमै निरीह बन्यो । नगर प्रहरी र ट्राफिक प्रहरी ‘दिन कटाउने र माना पचाउने’ मै ध्याउन्न छन् । जहाँ घाम लाग्छ, त्यतै गएर उभिन्छन् । भनिन्छ नि,‘सरकारी काम कहिले जाला घाम ।’ त्यस्तै पारा छ, उनीहरुको । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक मानव र सडक बालबालिका व्यवस्थापन गर्ने भनि पटकपटक घोषणा गरिसकेका छन् । तर, खोइ त व्यवस्थापन भएको ? सरकार भन्छ मात्रै, काम गर्दैन् । सास्तीचाँहि सँधै जनताले खेप्नुपर्छ ।
सरकार तलब खुवाउन, भत्ता बाँड्न विदेशीसँग माग्छ, जनता गुजारा गर्न माग्छन् । यो देश नै माग्नेको देश बनेको हो ? सरकार पनि माग्ने, जनता पनि माग्ने । कोही काम नगर्ने, मागेर ल्याएको पैसामा मोजमस्ती गर्ने । सरकार आफू त माग्ने भयो, जनतालाई पनि माग्न सिकायो ।
भनिन्छ नि,‘एकचोटि बानी लागेपछि छोड्न धेरै गाह्रो पर्छ ।’ हामीलाई माग्ने बानी लाग्यो । अरुको अगाडि हात फैलाउने बानी लाग्यो । अन्य देशसँग मागेर झण्डै २७ खर्ब झ्वाम्म पारिसकियो । कमाउने उमेरमा जनताहरु सडकमा माग्न बसेका छन् । योभन्दा लाजमर्दो अवस्था देशको लागि के होला ? दृष्टिविहिनहरु बरु धुप बेचेर कमाउन हिँडेका छन् । अर्काको सहारामा उनीहरु आफ्नो खुट्टामा उभिएका छन् । तर, नेता र कर्मचारीलाई लाज लाग्दैन् । देशको नेता, कर्मचारीभन्दा त ऊ महान् रहेछ । जे भएपनि आफैले कमाएर त खाएको छ । गर्न चाहनेले जसरी पनि गर्छ । दृष्टिविहिनहरुले गरिखान सिके, आँखा हुनेहरुले देश बेच्न सिके ।