अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको वार्ताका लागि आफ्नो टोली सोमबार बेलुकी इस्लामावाद पुग्ने घोषणा गरेका छन्।
आइतबार आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समा पोस्ट लेखेर ट्रम्पले दोस्रो चरणको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार साँझसम्म इस्लामावाद पुग्ने बताएका हुन्।
‘मेरा प्रतिनिधिमण्डल इस्लामावाद जाँदैछन्। सोमबार बेलुकी उनीहरू त्यहाँ हुनेछन्,’ ट्रम्पले लेखेका छन्।
सम्झौताका लागि इरानलाई यसपालि उचित र निष्पक्ष प्रस्ताव दिइने पनि ट्रम्पले बताएका छन्।
‘त्यो सर्त उनीहरूले मान्छन् भन्ने विश्वास छ। नमानेको खण्डमा इरानको प्रत्येक ऊर्जा संरचना र पुलहरू ध्वस्त पार्नेछौं,’ उनले लेखेका छन्।
ट्रम्पले हर्मुजमा जहाजमा गोलाबारी गरेर इरानले युद्धविराम उल्लंघन गरेको पनि बताए। साथै उनले हर्मुजमा इरानले पुनः बन्द गरेको घोषणालाई हास्यास्पद भने।
‘त्यहाँ पहिल्यै अमेरिकाले उनीहरूलाई नाकाबन्दी गरेको छ। हर्मुज बन्द हुँदा इरानलाई नै घाटा हो। अमेरिकालाई केही प्रभाव पर्दैन। उनीहरू दैनिक ५० करोड डलरको नोक्सानी ब्यहोरीरहेका छन्,’ उनले भनेका छन्।
अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसका अनुसार अमेरिकाले पुरानै टोली इस्लामावाद पठाउने तयारी गरेको छ।
यसअघि पहिलो वार्ता हुँदा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, मध्यपूर्व दूत स्टिभ विटकोफ, ट्रम्पका ज्वाँइ ज्यारेड कुश्नर इस्लामावाद गएका थिए।
ट्रम्पले अमेरिकी टोली इस्लामावाद पुग्ने घोषणा गरे पनि इरान र पाकिस्तानले भने औपचारिक रूपमा वार्ताको पुष्टि गरेको छैन।
ट्रम्पले पोस्ट लेखेपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले इरानी राष्ट्रपति मशुद पेजेस्कियनसँग झन्डै ४५ मिनेट टेलिफोन वार्ता गरेका थिए। परराष्ट्रमन्त्री इशाक डारले पनि इरानी विदेशमन्त्री अब्बास अराग्चीसँग छलफल गरेको भनेर एपीले लेखेको छ।
यद्यपि इरानी पक्षबाट वार्ताका लागि प्रतिबद्धता भएको अहिलेसम्म सार्वजनिक नभएको बताएको छ।


