Breaking News

सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैद सजाय

१३ असोज, काठमाडौं । सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाले अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले तीन महिना कैदको सजाय सुनाएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले उनीहरुलाई ३र३ महिनाको कैद सजाय सुनाएको हो ।

यदि अदालतसमक्ष क्षमायाचना गरेमा ७ दिन कैद सजाय गर्ने फैसला भएको सर्वोच्च अदालत स्रोतले बतायो । सीधा कुरा डटकमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश र केही आमसञ्चार माध्यम सञ्चालकले लेनदेन गरेको दाबी गर्दै एक समाचार र भिडियो सामग्री प्रकाशन गरेको थियो ।

सीधा कुरा डटकमले राजकुमार तिमल्सिनाले दिएको एक अडियो कुराकानीका आधारमा उक्त समाचार प्रकाशन गरेको थियो । सर्वोच्च अदालतले तिमल्सिनालाई ६ महिना कैद गर्न आदेश दिएको छ । त्यस्तै सीधा कुरा डटकमलाई पनि ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ ।