Breaking News

बेनी अस्पतालको वार्षिक समिक्षा,करिब ७४ हजारले सेवा लिए

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा सेवाग्राहीको संख्या बढेको छ । सोमबार बेनी अस्पतालले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठीमा आर्थिक वर्ष २०८०र०८१ मा ७३ हजार ९ सय ३० जनाले ओपिडी सेवा लिएको जानकारी गराइएको थियो ।बेनी अस्पतालले ओपिडी सेवा विस्तार गरेपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ । अस्पतालले सार्वजनिक विदा र शनिबार समेत गरेर विहान ७ बजे देखि बेलुका ८ बजे सम्मनै ओपिडी सेवा विस्तार गरेको छ ।

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा। अन्जु थापाले आर्थिक वर्ष २०८०्०८१ को वार्षिक समिक्षा प्रस्तुत गर्नुभएको हो । उहाँले अस्पतालले सुरु सेवा विस्तारले विरामीलाई सेवा लिन सहज हुनुका साथै सेवाग्राहीको संख्यामा पनि वृद्धि भएको बताउनुभयो ।
सार्वजनिक विदा तथा शनिबारको दिन समेत गरि हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजे सम्म विस्तार गरिएको सेवाले विरामीहरुलाई सहजता प्रदान गरेको छ । डा। थापाका अनुसार करिव ४५ प्रतिशत विरामीले विहान र बेलुकाको समयमा सेवा लिने गरेका छन ।
अस्पतालले मानसिक रोग,महिला तथा प्रस्तुती रोग, जनरल फिजिसियन, बाल रोग, हाडजोर्नी तथा नशा रोग, जनरल सर्जरी लगायतका विशेषज्ञ सेवाहरु दैनिक रुपमा उपलब्ध गराउँदै आएको छ ।

यसैगरी अस्पतालको सामाजिक सेवा इकाईबाट निःशूल्क र सहुलियत रुपमा स्वास्थ्य सेवा लिनेको संख्या पनि बढेको छ । इकाई मार्फत आर्थिक वर्ष २०७९÷८० मा चार सय ७६ जनाले सेवा लिएकामा यो संख्या आर्थिक वर्ष २०८०÷८१ मा बढेर एक हजार एक सय ८६ जना पुगेको छ ।इकाई मार्फत महिला स्वास्थ्य स्वमसेविका, गरिब, असाहय, परिचयपत्र बाहक अपाङ, जेष्ठ नागरिक, लैङगिक हिंसा पिडित, गरिव तथा विपन्न, विपद् प्रभावित, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा बिरामी, सिमान्तकृत तथा लोपोन्मुख आदीवासी र जनजातीले निशूल्क वा सहुलियतमा सेवा पाउँछन् ।

सात हजार पाँच सय ७२ जनाले आकस्मिक, दुई हजार दुई सय ६५ जना भर्ना भएर सेवा लिएका छन् । ९६ जनाले शल्यक्रिया सहित तीन सय ७० जनाले प्रसुति सेवा लिएका छन् । नौ हजार छ सय ३६ जनाले युएसजी, चार हजार १३ जनाले इसिजी, १५ हजार आठ सय ९५ जनाले एक्सरे सेवा लिएका छन् । ९३ जना अन्य स्वास्थ्य संस्थाबाट रिफर भएर बिरामी आएका अस्पतालबाट गत वर्ष चार हजार तीन सय चार जना अन्यत्र रिफर भएका छन् ।

५० शैया क्षमताको भएपनि ७८ शैया बराबरको सेवा दिइरहेको अस्पतालमा हाल आठ जना विशेषज्ञ सहित २३ जना चिकित्सक छन् । अस्पताल ब्यवस्थापन समिति अन्तर्गतका चिकित्सक र स्वास्थ्यकर्मीहरुको पनि अस्थायी दरबन्दी स्विकृत भएपछि जनशक्ति व्यवस्थापन सहज भएको छ । ३० जनाले डायलाईसीस सेवा लिइरहेका छन् । स्वास्थ्य विमा बोर्डले औषधी उपचार वापतको रकम समयमा भुक्तानी नगर्दा अस्पतालको आर्थिक व्यवस्थापनमा कठिनाई भएको उहाँले बताउनुभयो ।

५० शैया क्षमताको भवन निर्माणमा भएको ढिलाईले सेवा प्रवाहमा चुनौति सिर्जना भएको छ । बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले ठेकेदारले यसै वर्ष दुई वटा भवनको बल्क हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको बताउनुभयो । स्थानीय तहहरुले अस्पतालमा जनशक्ति व्यवस्थापनमा सहयोग गरेमा सहज हुने उहाँले बताउनुभयो ।जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले सिमित स्रोत साधनका बावजुद सेवा प्रवाहमा बेनी अस्पतालले गरेको सुधारको प्रयासलाई निरन्तरता दिन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सक्रीयता देखाउनुपर्ने बताउनुभयो