Breaking News

दिनप्रतिदिन सुनको मूल्यले रेकर्ड बनाउँदै : आजको मुल्य १ लाख ६० हजार ४ सय रुपैयाँ कायम

९ असोज, काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले रेकर्ड बनाउँदै छ । आज बुधबार हिजो्को तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ ।

यतिबेला सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै उच्च दरले बढेपछि नेपालमा प्रभाव परेको हो । ‘दशैं, तिहार वा यहाँका अरु चाडपर्वसँग सुनको कुनै सम्बन्ध हुँदैन, अन्तर्राष्ट्रिय बजारमै भाउ बढेपछि यहाँ बढेको हो’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने ।

अन्तर्राष्ट्रिय बजारमा भने यतिबेला मूल्य बढ्नुको मुख्य कारण अमेरिकाको घट्दो ब्याजदरले माग बढाउनु हो । सुनको भाउ बढ्नुमा बारम्बार एकपछि अर्को अन्तर्राष्ट्रिय कारण निम्तिरहेको शाक्य बताउँछन् । युक्रेनमाथि रुसको हमला र त्यसपछिको अन्तर्राष्ट्रिय द्वन्द्व, इरान र इजरायल द्वन्द्व, अमेरिका सहित विश्वका धेरै देशको अर्थतन्त्र शिथिल हुनु लगायत कारण सुनको भाउ बढ्दै गयो ।