Breaking News

छविलाल जोशी काठमाडौंबाट जरुरी पक्राउ र रवि लामिछाने पक्राउका लागि प्रहरी कागजात जुटाउँदै

६ असोज, काठमाडौं । गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले काठमाडौंबाट ‘जरुरी पक्राउ पूर्जी’ दिएर नियन्त्रणमा लिएको खुलेको छ ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शंखमुल क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले बतायो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लेखेको पत्र समेतका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जरुरी पूर्जी थमाएर जोशीलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

जोशीलाई आइतबार साँझै विमानमार्फत पोखरा लैजाने तयारी छ । कुनै कसुर गर्ने व्यक्ति तत्काल पक्राउ नगर्दा ‘त्यस्तो व्यक्ति भाग्ने, उम्कने वा प्रमाण नष्ट गर्ने अवस्था भए’ जरुरी पक्राउ पूर्जी लिएर व्यक्तिलाई पक्राउ गर्न सक्ने अधिकार प्रहरीलाई छ ।

यद्यपि, यसरी पक्राउ परेका व्यक्तिलाई यथाशीघ्र अदालतमा उपस्थित गराउनुपर्छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका एक अधिकृतले भने, ‘भोलि अदालत उपस्थित गराएर विस्तृत अनुसन्धानका लागि म्याद थप गरिने छ।’

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानून अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

सिफारिसमा परेकामध्ये राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी छ भने रम्तेल पुर्पक्षका लागि थुनामा
छन् ।

बाँकी रहेका जोशी र लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

दुईमध्ये जोशीलाई प्रहरीले जरुरी पक्राउ पूर्जी थमाएर नियन्त्रणमा लिइसकेको छ भने लामिछानेबारे कागजातहरु जुटाउने काम भइरहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका एक अनुसन्धान अधिकृतका अनुसार, २२ माघमा लामिछानेसहित १८ जनाविरुद्ध २५ जना पीडितले पूरक जाहेरी समेत दिएका थिए ।