कर्णालीमा थप ३५ जनाका कोरोना भाइरस संक्रमण भएको पुष्टि

१९ जेठ, सुर्खेत । कोरोना भाइरसले कर्णालीमा रफ्तार नै बढाइरहेको छ । संक्रमित थपिने क्रममा आज थप कर्णाली प्रदेशमा ३५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ३५ जनामध्ये सुर्खेतका १६ जना, दैलेख र सल्यानका ९–९ जना र अछामका एकजना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिएका छन् ।

संक्रमित हुनेहरुमा सुर्खेतको लेकवेशी नगरपालिका वडा नं. १, २, ३, र ५ का १२ जना, पञ्चपुरी नगरपालिका वडा नं. १० का एकजना, भेरीगंगा नगरपालिका ११ का तीन जना छन् । लेकवेशी नगरपालिका–१ की ८ वर्षीया बालिका र भेरीगंगा नगरपालिका ११ का ४ वर्षीया बालकमासमेत संक्रमण देखिएको छ ।

दैलेखको नारायण नगरपालिका वडा नं. १, ३ र ८ का ७ जना, चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ का एकजना, नौमुले गाउँपालिका २ का एकजना पुरुष रहेका छन् । त्यस्तै सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३, ४ र ६ का ९ जना पुरुष रहेका छन् भने अछाम चौपाटी गाउँपालिका २ का एक रहेका छन् ।

नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३३ पुगेको छ । आजै बिहान मात्रै सुर्खेतमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएका थिए ।