राजपा र सपा ले संयुक्त रुपमा संबिधान संशोधन विधेयक दर्ता गराए

१९ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गरेको छ । सोमबार राजपा नेता लक्ष्मणलाल कर्णसहितको टोलीले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता गराएका हुन् ।

यसअघि गत शुक्रबार संसदले उनीहरुको संशोधन विधेयक दर्ता गरेको थिएन । त्यतिबेला संघीय संसदका महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्ने भनी फर्काएका थिए । सोमबार भने उनले विधेयक दर्ता गरे ।

विधेयक दर्ता गरेपछि नेता कर्णले सत्तारुढ दलले आफूहरुको विधेयकमा समर्थन नगरे आफूहरु पनि सरकारले ल्याएको विधेयकमा समर्थन नगर्ने बताए । ‘सरकारले पनि अर्को विधेयक दर्ता गरेको छ, सरकारले मान्दैन भने हामीले के गर्ने हो त्यो गर्छौं’ उनले भने ‘हाम्रो मानेन भने उनीहरुको मान्न बाध्य हुन्नौं ।

नेता कर्णले आफूहरुको विधेयकलाई नेपाली कांग्रेसले पनि समर्थन गर्नुपर्ने बताए । ‘उहाँहरुले पनि हस्ताक्षर गर्न आउनुपर्थ्यो, आउनुभएन । उहाँहरुले चाहनुहुन्छ भने अर्को विधेयक दर्ता गर्न सक्नुहुन्छ ।