Breaking News

जुवाको अखडाबाट एमाले नेता सहित ९ जना जुवाडे पक्राउ

विराटनगर । एमाले नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राति गोप्य सूचनाको आधारमा पक्राउ गरेको एसपी कार्कीले बताए ।

यसरी पक्राउ पर्नेहरुमा सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का ५० वर्षीय जनक कुमार माझी, मोहतरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का, सोही ठाउँका आर्हलाल माझी, धरान १५ का युवक राई, दमक १० का कतुवर्न नेम्वाङ, लेटाङ ९ का लोक नाथ सापकोटा र सुन्दरहैचा ३ का प्रताप राई  छन् ।

सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको  एसपी  कार्कीले जानकारी दिए । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।