Breaking News

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको गाडी निकालियो यात्रु बेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको गाडी निकालिएको छ।

शुक्रबार दिउँसो बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको बोलेरो गाडी शुक्रबार साँझ निकालिएको हो।

साँझ ६: ४५ बजे क्रेनबाट बा २० च २१८५ नम्बरको गाडी नदीबाट निकालिएको प्रहरी वृत्त बाह्रबिसेका प्रहरी निरीक्षक
( इन्स्पेक्टर) सुमेश पाण्डेले जानकारी दिए।

उनकाअनुसार बोलेरोमा दुई जना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

बोलेरोमा चालक भोटेकोशी गाउँपालिका-५ का ३८ वर्षीय सानु शेर्पा र बाह्रबिसे नगरपालिका-९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ रहेको इन्सपेक्टर पाण्डेले जानकारी दिए।

गाडी शेर्पाकै रहेको खुलेको पनि उनले बताए।

‘दुईजना मात्र भएको अनुमान गरिएको छ। दुवै जनालाई फेला पार्न सकिएन,’ उनले भने, ‘ आज पुनः खोज्छौं।’

दिउँसो स्थानीयले नदीमा गाडीको टायर देखिएपछि प्रहरीलाई खबर गरेका थिए। गाडी खसेको आशंकामा प्रहरी घटनास्थलमा पुगेको थियो।

गाडी खोज्नका लागि दुईवटा क्रेनसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका थिए।