Breaking News

बालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोपमा दुई होटल सञ्चालक पक्राउ

१२ भदौ, काठमाडौं । बालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकलाई पक्राउ गरेको छ । रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ४२ वर्षीय राजु शाही छन् ।

उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरुले कोटेश्वरमा कमलामाई खाजा घर एण्ड गेस्ट हाउस सञ्चालन गरेका थिए ।

बालिकाहरुलाई होटलको कामको बहानामा आर्थिक प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

उनीहरुले अन्य होटल गेस्ट हाउस तथा ग्राहकले बोलाएको ठाउँमा बालिकाहरुलाई पठाएको पनि पाइएको उनले बताए । उनीहरुको गेस्ट हाउसबाट प्रहरीले ५ बालिका उद्धार गरेको छ ।