Breaking News

रोल्पाको धवाङका चार जनामा हैजा पुष्टि

१२ भदौ, काठमाडौं । रोल्पाको रोल्पा नगरपालिका– १० धवाङका चार जनामा हैजा पुष्टि भएको छ ।

लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताका अनुसार एउटै वडाका चार जनामा हैजा पुष्टि भएको हो ।

संक्रमित हुनेमा ८०, २६ र १८ वर्षका तीन महिला र ८ वर्षका बालक छन् । यो सँगै यस वर्ष हैजाबाट संक्रमित हुनेको संख्या ७१ पुगेको छ ।

ललितपुरमा ४७ काठमाडौंमा नौ, कैलालीमा आठ, प्यूठानमा दुई र मकवानपुरमा एकमा जनामा यसअघि नै संक्रमण पुष्टि भएको थियो ।

हैजा पुष्टि भएका अधिकांश निको भइसकेका छन् । चिकित्सकका अनुसार हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । हैजाको प्रमुख कारण पिउने पानी र खानेकुरा नै मानिन्छ ।

सामान्यतया झाडा पखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन् । हैजा संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।

अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने हैजाका लक्षण हुन् ।