लकडाउन उल्लंघन गर्ने प्रधानमन्त्रीलाई ६९० अमेरिकी डलर जरिवना

१८ जेठ, काठमाडौं । आफैंले लागू गरेको लकडाउन उल्लंघन गरेपछि रोमानियाका प्रधानमन्त्रीले जरिवाना तिरेका छन् ।

कोरोनाभाइरसको संक्रमण रोक्न लकडाउनको समयमा लगाइको प्रतिबन्धको अवज्ञा गरेपछि शनिबार रोमानियाका प्रधानमन्त्री लुडोभिक अर्वानले जरिवाना तिरेका
हुन् ।

प्रधानमन्त्री अर्वानले आफ्ना क्याबिनेटका सदस्यहरूसँग अफिसमै धुमपान गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तस्बिरमा सदस्यहरूले मास्क नलगाइ टेबुलमै राखेको देखिएको थियो ।

उक्त कुराको व्यापक आलोचना भएपछि प्रधानमन्त्री अर्वानले ६९० अमेरिकी डलर जरिवाना तिरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनले पछि विज्ञप्ति जारी गर्दै मे २५ मा आफ्नो ५७ औं जन्मदिन भएको जानकारी दिएका थिए। साथै आफूहरू काम सकिएपछि अफिसमा भेला भएको उनको भनाइ थियो ।

रोमानियामा ६० दिनको लकडाउन मे १५ मा सकिएको थियो। तर अर्वानको सरकारले ३० दिन ’स्टेट अफ अलर्ट’ कायम गर्न निर्देशन दिएको थियो। जहाँ सार्वजनिक यातायात तथा सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरिएको थियो । रोमानियामा घरभित्र धुमपान गर्न सन् २०१६ देखि प्रतिबन्ध लगाइएको छ।

सोमबारदेखि त्यहाँ बाहिर बस्न मिल्ने गरी रेष्टुरेन्टहरू खोल्न दिने भएको छ । शनिबारसम्म रोमानियामा १९ हजार एक सय ३३ संक्रमित छन् भने एक हजार दुई सय ५३ जनाले ज्यान गुमाएका छन् ।