१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले राष्ट्रियताका पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार गरेको निर्णय सकारात्मक रहेको बताएका छन् । उनीहरुले राष्ट्रिय मुद्दामा दलीय एकता जरुरी रहेको र दलगत स्वार्थभन्दा माथि उठेर व्यवहार प्रदर्शन भएकामा सन्तोष व्यक्त गर्दै कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नसमेत आमसहमतिमा जोड दिए ।
शनिबार बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको थियो । काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्बाधरुपले नेपालको हक स्थापित हुनुपर्ने अडान दोहो¥याएको छ ।
बैठकमा सांसद विनाकुमारी श्रेष्ठले राष्ट्रियताका पक्षमा उभिने काँग्रेसको निर्णय सकारात्मक छ भन्दै यस विषयमा संसद्मा रहेका दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । सांसद हरि अधिकारीले राष्ट्रिय विषयमा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थका साथ एकै स्थानमा उभिने निर्णय आफँैमा महत्वपूर्ण रहेको बताए ।
सांसद विरोध खतिवडाले राष्ट्रियता एकता प्रदर्शन भएकामा प्रतिपक्षी दललाई धन्यवाद दिँदै कूटनीतिक पहलमार्फत सीमा विवाद समाधान गरिनुपर्ने बताए । उनले कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा भारतले एकतर्फीरूपमा सडक निर्माण गरी उद्घाटनसमेत भएको र त्यहाँ सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने तयारी गरिएको भन्ने जानकारी आएकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद शान्तिमाया पाख्रिनले राष्ट्रियताप्रति काँग्रेसको समर्थन सराहनीय छ भन्दै आगामी दिनमा अन्य राष्ट्रिय हितका सवालमा पनि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिदइन् । सांसद सुरेन्द्रकुमार कार्कीले भारतमा रहेका नेपाली विभिन्न नाकाबाट फर्किने क्रम बढिरहेकाले उनीहरुलाई नाकाबाट व्यवस्थितरूपमा आआफ्नो गाउँ तथा थातथलोमा पु¥याउन माग गरे ।
सांसद लालबाबु पण्डितले स्थानीय तहले क्वारेन्टिन व्यवस्थापन गर्न नसकेको भन्दै सङ्घीय सरकारलाई थप सहयोग गर्न माग गरे । सांसद बिन्दा पाण्डेले क्वारेन्टिनमा समेत महिला हिंसाका घटना बढेको भन्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरिन् । सांसद शशि श्रेष्ठले बन्दाबन्दीले अर्थतन्त्र धराशायी बनेको भन्दै यसलाई क्रमशः खुकुलो बनाई जनजीवन सहज बनाइनुपर्ने बताइन् ।
सांसद शान्ता चौधरीले प्रेमकै कारण मृत्युसम्म पुगेको रुकुम घटना अपराधजन्य छ भन्दै दोषीलाई कारवाही गर्न माग गरिन् । सांसद सत्यनारायण शर्मा खनालले कोरोना महामारी नियन्त्रणका लागि परीक्षणको दायरा बढाई सम्बन्धित क्षेत्रमा स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद सत्य पहाडीले रुकुम घटना मानवजतिकै कुरुप घटना हो भन्दै बेपत्ताको खोजी गरी दोषीलाई कडा कारवाही गर्न तथा पीडित पक्षलाई राहत उपलब्ध गराउन माग गरिन् । सांसद सुदन किराँतीले पूर्वका भोजपुरलगायत पहाडी जिल्लामा कोभिड–१९ को परीक्षण दायरा बढाई स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सङ्घीय सरकारसमक्ष माग गरे ।