कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न सरकारलाई सुझाव

१८ जेठ, काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७–७८ को बजेटमाथिको छलफलमा आज बोल्दैै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक पटकलाई फेरि सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने बताएका छन् ।

कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न दिन सरकारलाई सुझाव दिएका हुन् । ‘सम्पत्ति स्वयं घोषणा गर्न दिऔं, कालोसेतो नभनौं एकचोटीलाई’ उनले भने ‘सबैले सम्पत्ति अभिलेखीकरण गरौं । त्यो र्गयो भने राजस्व बढ्छ ।’

यसअघि भट्टराई अर्थमन्त्री भएका बेला २०६५ सालमा पनि सम्पत्तिको स्वघोषणा गर्ने योजना ल्याएका थिए ।

समाजवादी पार्टीको नेता भट्टराईले सम्पूर्ण नागरिकको सम्पत्ति अभिलेखीकरण गर्न पनि सरकारलाई सुझाव दिएका छन् । अर्बौ सम्पत्ति जमिनमा लगाउने र त्यसको कर नतिर्ने प्रवृत्ति देखिएको भन्दै उनले नागरिकको सबै सम्पत्ति अभिलेखीकरण गरी कर लगाउनुपर्ने बताएका हुन् । व्यवसाय र्गयो भने कर लाग्ने, जग्गा किन्दा र घर बनाउँदा नलाग्ने प्रचलन अन्त्य गर्नुपर्ने भट्टराईले बताए ।

भट्टराईले शिक्षा र स्वास्थ्यमा मुनाफाका लागि लगानी गर्न दिन नहुने भन्दै यसमा सबै दायित्व राज्यले लिनुपर्ने पनि बताए । शिक्षा र स्वास्थ्यमा कसैले लगानी गर्छ भने परोपकारका लागि गर्न सकिने तर ब्यापार गर्न नपाइने नियम लगाउन भट्टराईको सुझाव थियो ।