Breaking News

भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुग्यो

भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ ।

यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए । तर बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीलाई उद्धृत गर्दै मृतकको संख्या १२३ पुगेको लेखेको छ ।

केरलाकी स्वास्थ्यमन्त्री विना जोर्जका अनुसार मंगलबार बिहान २-३ बजेतिर यो घटना भएको हो । पहिरोमा परी कयौं घर, पसल र गाडीहरु पुरिएका थिए । कतिपय मानिसहरु वायनाड क्षेत्र भएर बग्ने चलियार नदीमा बगेका थिए ।

अधिकारीहरुका अनुसार वायनाडका गाउँ बाढीपहिरोबाट तहसनहस भएका छन् । मुण्डाक्कई क्षेत्रलाई आसपासका अरु क्षेत्रसँग जोड्ने एकमात्र पुल भत्किएपछि उद्धार कार्यमा समस्या परेको छ । सो क्षेत्रमा अस्थायी पुल निर्माणका लागि सहयोग गर्न मुख्यमन्त्रीले पिनरई विजयनले आह्वान गरेका छन् ।

यद्यपि आपदा मोचन बलको टोली डोरीको सहायताले मुण्डाक्कईमा पुगेर एकै स्थानबाट ३० भन्दा बढी शवहरु संकलन गरेको थियो । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले बताएका छन् ।

नेपालीहरु पनि काम गर्दछन् केरलामा

केरलाका कृषि फर्महरुमा नेपालीहरुले पनि काम गर्दछन् । तर यो बाढीपहिरोमा नेपालीहरु परे/नपरेको अझै स्पष्ट हुन सकेको छैन ।

खोज तथा उद्धारमा सेना, नौसेना, वायु सेना, आपदा मोचन बल सहितका उद्धारकर्मीहरु परिचालन गरिएको छ । उद्धार टोलीले २५० भन्दा बढीलाई जोगाएको बताइएको छ ।

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस आई अध्यक्ष एवम् वायनाडका सांसद राहुल गान्धी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने जनाएको छ ।

केही दिनदेखि नै केरलाका विभिन्न स्थानमा भारी वर्षा हुँदै आएको थियो । आपदा प्रबन्धन विभागले ३० जुलाईको दिन वायनाड, कोझीकोड, मल्लापुरम, कन्नुर लगायतका क्षेत्रमा खतराको संकेत स्वरुप रेड अलर्ट जारी गरेको थियो । मौसम विभागका अनुसार ती क्षेत्रमा २४ घण्टाको अवधिमा २०४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

भारतको केरला पहाडी इलाका हो । यहाँ ठूलो संख्यामा पर्यटकहरु पुग्ने गर्दछन् ।

सन् २०१८ मा केरलामा आएको बाढीपहिरोमा ५०० जनाको मृत्यु भएको थियो ।

एजेन्सी