Breaking News

जेम्स एन्डरसनले ४१ वर्षको उमेरमा क्रिकेटलाई अलबिदा गरे

लर्ड्स । इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ वर्षको उमेरमा क्रिकेटलाई अलबिदा भनेका छन् । सन् २००२ मा २० वर्षको उमेरमा एन्डरसनले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका थिए ।

टेस्टमा ७०४ विकेट, एकदिवसीयमा २६९ र टी–२० मा १८ गरी उनले करियरमा कुल ९९१ विकेट लिए। २१ वर्षसम्म इङ्ल्यान्ड टोलीको पेस बलिङको नेतृत्व गरेका उनले लर्ड्समा अन्तिम टेस्ट खेलेका हुन् ।

खेल जितेपछि उनी बालकनीमा आए, मैदानमा जम्मा भएका सयौँ फ्यानलाई सम्बोधन गर्दै उनले भने, ‘इङ्ल्यान्डका लागि क्रिकेट खेल्नु संसारकै उत्कृष्ट काम हो ।’ र त्यसपछि अलबिदा भने।

खेलपछि सम्पूर्ण टोली र पूर्व कप्तान नासिर हुसेन लर्ड्सको ड्रेसिङ रुममा उपस्थित थिए । हुसैनले एन्डरसनलाई भने, ‘तपाईंले इङ्ल्यान्डका लागि जे गर्नुभयो त्यो उत्कृष्ट थियो। सबै कुराका लागि धन्यवाद।

एन्डरसनले आफ्नो एकदिवसीय करियर २००२ मा अस्ट्रेलिया विरुद्ध सुरु गरे र अन्तिम खेल सन् २०१५ मा अफगानिस्तानविरुद्ध खेले। उनले सन् २००३ मा जिम्बाब्वेविरुद्ध आफ्नो टेस्ट करियर सुरु गरेका थिए । शुक्रबार वेस्ट इन्डिज विरुद्ध आफ्नो अन्तिम खेल खेले।

त्यस्तै उनको टी–२० करियर को सुरुवात सन् २००७ मा अस्ट्रेलियासँग भएको थियो भने अन्तिम खेल सन् २००९ मा दक्षिण अफ्रिकासँग खेलेका थिए ।

जेम्स एन्डरसनले आफ्नो पहिलो बल १५ डिसेम्बर २००२ मा २० वर्षको उमेरमा गरेका थिए। यो खेल अस्ट्रेलियाको मेलबर्नमा भएको थियो । यस खेलमा एन्डरसनले ६ ओभरमा ४६ रन दिएर १ विकेट लिए । उनले अस्ट्रेलियाका लेजेन्ड एडम गिलक्रिस्टलाई आउट गरेका थिए ।

एन्डरसनले एकदिवसीय डेब्यू गरेको एक वर्षपछि टेस्ट डेब्यू गरेका थिए। जिम्बावेविरुद्धको खेलमा एन्डरसनले ५ विकेट लिएका थिए । यो खेल इंग्ल्याण्डको लर्ड्समा भएको थियो ।

एन्डरसनले सन् २००७ मा अस्ट्रेलियाविरुद्ध टी–२० डेब्यु गरेका थिए । यो खेल अस्ट्रेलियाको सिड्नीमा भएको थियो । यो खेलमा एन्डरसनले १ विकेट लिए । उनले म्याथ्यु हेडनलाई आउट गरेका थिए ।

  • जेम्स एन्डरसनको करियर

सचिन तेन्दुलकरको २०० टेस्ट खेलपछि सबैभन्दा धेरै खेल खेल्ने जेम्स एन्डरसनले यस वर्षको सुरुमा भारत भ्रमणमा आफ्नो ७०० टेस्ट विकेट पूरा गरेका थिए।

एन्डरसनले सन् २००३ मा जिम्बाब्वेविरुद्ध लर्ड्स मैदानमा टेस्ट डेब्यू गरेयता उनले १८८ टेस्ट खेलमा इंग्ल्याण्डको प्रतिनिधित्व गरेका छन् । यस अवधिमा उनले ३५० इनिङ्समा २६.५३ को औसत र २.७९ को इकोनोमीमा ७०४ विकेट लिएका छन् ।

जेम्स एन्डरसन टेस्टमा ४० हजार बल बल गर्ने पहिलो फास्ट बलर पनि बनेका छन् । उनले १७८ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । उनका सहकर्मी स्टुअर्ट ब्रोड दोस्रो स्थानमा छन्, उनले १६७ टेस्ट खेलमा ३३ हजार ६९८ बल गरेका छन् ।

टेस्टमा सर्वाधिक विकेट लिनेमा एन्डरसन तेस्रो स्थानमा छन् । उनले १८८ टेस्ट म्याचको ३५० इनिङ्समा २६.५३ को औसत र २.७९ को इकोनोमीमा ७०४ विकेट लिएका छन्।

टेस्ट क्रिकेटमा उनले ३२ पटक ५ विकेट र ३ पटक १० विकेट लिएका छन् । टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिनेमा एन्डरसन श्रीलंकाका मुथैया मुरलीधरन (८००) र अस्ट्रेलियाका शेन वार्न (७०८) पछि तेस्रो स्थानमा छन्। फास्ट बलरको हिसाबले उनी पहिलो नम्बरमा छन् ।

इङ्ल्यान्डका फास्ट बलर जेम्स एन्डरसनले आफ्नो टेस्ट करियरको अन्तिम खेल लर्ड्समा खेले। उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभन्दा दुई दिनअघि सोमबार पत्रकार सम्मेलनमा भनेका थिए, ‘पछिल्ला केही दिनदेखि मेरो प्रशिक्षण राम्रो भइरहेको छ । म खेलको बारेमा धेरै सोच्दिनँ। मेरो लागि राम्रो बलिङ गर्नु र टोलीलाई जित दिलाउन ठूलो कुरा हुनेछ। मेरो सम्पूर्ण ध्यान यसैमा छ । म पक्का छु कि खेल पछि भावनाहरू परिवर्तन हुनेछन्। त्यसैले मेरो ध्यान आफैलाई रुनबाट रोक्नमा हुनेछ।’

उनले थप भने, ‘म अहिले पनि पहिले जस्तै फिट महसुस गर्छु, पहिले जस्तै बलिङ गर्दैछु। अझै पनि राम्रो प्रदर्शन गर्न सक्छु भन्ने मलाई लाग्छ । तर एकै समयमा म बुझ्छु कि यो एक न एक दिन समाप्त हुनेछ। अब यो स्विकार्नुपर्ने कुरा हो ।’

एजेन्सी