Breaking News

दक्षिणी गाजामा विस्थापितहरुको अस्थायी शिविरमा इजरायलले आक्रमण गर्दा २९ जनाको मृत्यु

२६ असार, काठमाडौं । दक्षिणी गाजामा विस्थापितहरुको अस्थायी शिविरमा इजरायलले आक्रमण गर्दा २९ जनाको मृत्यु भएको छ ।

इजरायलले भने आफ्नो आक्रमण विस्थापित भएकाहरुमाथि लक्षित नभई हमासका लडाकुहरुप्रति लक्षित रहेको जनाएको छ । शरणार्थी शिविरमा आक्रमण भएको भए त्यसको जाँच गर्ने इजरायलले जनाएको छ ।

हमासले सन्चालन गरेको स्वास्थ्य मन्त्रालयले भने खान युनिसको पूर्वतर्फ पर्ने अबसाना अल कबिरा गाउँमा रहेको अल आवदा स्कुलको गेट अगाडि हवाई हमला भएको थियो । सो स्थानमा युद्धबाट विस्थापित भएकाहरुको अस्थायी शिविर थियो ।

इजरायली सेनाले भनेको छ-सो स्थानमा सात अक्टुबरमा इजरायलमा आक्रमण गर्नेहरु त्यहाँ थिए र हमासको ‘मिलिटरी विङ्ग’का सदस्यहरुलाई निशाना बनाउनका लागि सटिक प्रहार गर्ने हतियार प्रयोग गरिएको थियो ।

सात अक्टुबरमा इजरायलमा हमासले आक्रमण गर्दा १२ सय जनाको मृत्यु भएको थियो भने नेपालका विपिन जोशीसहित २५१ जनालाई हमासले बन्धक बनाएर गाजा क्षेत्रमा लगेको थियो । सो घटनापछि इजरायलले हमासलाई निमिट्यान्न पार्ने कसम खाँदै आक्रमण जारी राखेको छ ।

इजरायली सेनाको सैन्य कारबाहीमा हालसम्म ३८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने लाखौं व्यक्तिहरु विस्थापित भएका छन् ।

आक्रमणको क्रमममा एक हप्ता अगाडि मात्रै इजरायली सेनाले अबासान अल कबिरा र खान युनिसको पूर्वी इलाका खाली गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार त्यहाँबाट हजारौं व्यक्तिहरु विस्थापित भएका छन् ।

एजेन्सी