Breaking News

आजदेखि नौबिसे-मलेखु सडक खण्ड १५ दिनसम्म रातिको समय बन्द हुने

काठमाडौं । आजदेखि पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु खण्ड १५ दिनसम्म रातिको समय बन्द हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना जारी गर्दै २६ असारबाट राति १० देखि बिहान ३ बजेसम्म नागढुंगा-मुग्लिङ सडक बन्द हुने जाकनारी दिएको हो । यस सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको पूर्वी खण्डले जनाएको छ ।

दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको पूर्वी खण्डका सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताए । उनका अनुसार यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) भने चल्न सक्नेछन् ।