Breaking News

साधारण व्यक्तिकै घरमा करोडौं, नेता, कर्मचारी र व्यापारीको घरमा कति होला ?

करिब तीन वर्षअघि बजारमा मन्दी निम्तियो । त्यतिखेरै पाँच हजार र हजारको नोट लुकाइएको पनि कुरा बाहिरिएको थियो । बजार पूरै मन्दीमा गएपछि सडकदेखि सदनसम्म पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन आवाज समेत उठेको थियो । यद्यपि, सरकारले यी नोटमा प्रतिबन्ध लगाएन ।

उल्टै बजार मन्दीमा रहेको पनि सरकार पक्ष स्वीकार्न तयार भएको थिएन । अर्थ मन्त्रालय र राष्ट्र बैंकले बजारमा गएका कति पैसा बैंक, वित्तिय संस्थामा जम्मा भयो र कति घरमै लुकाइयो ? भनेर खोजतलास गरेन । यसप्रति सरकारी निकायले चासो नै देखाएनन् । राष्ट्र बैंक जहिल्यै बैंकमा पैसा थुप्रियो मात्र भनिरह्यो ।

केही दिनअघि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर, ४ दधिकोटस्थित एक व्यक्तिको घरमा दुई करोड रुपैयाँ चोरिएको घटना बाहिरियो । चोरी आरोपमा चार जनालाई प्रहरीले समातिसकेको छ । यो घटनाले नै मानिसहरुले पैसा घरमा लुकाइएको प्रमाणित गरिसकेको छ । अब सरकार के गर्छ ? अझै पनि सर्वसाधारणलाई भ्रममा पारिरहन्छ, सरकार !

यदि त्यो दुई करोड नचोरिएको भए यो घटना बाहिर आउँदैन्थ्यो । न त एउटै मानिसको घरमा यत्रो पैसा रहेको कसैलाई थाहा हुन्थ्यो । रोचक कुरा त राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा पैसा थुप्रियो भनेर भनिरहँदा एउटै व्यक्तिको घरमा यति धेरै पैसा रहेको खुलासा हुनुले राष्ट्र बैंकले आम नागरिकमा भ्रम मात्र सिर्जना गरेको पनि सावित भएको छ ।

पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन सदनमा समेत आवाज उठिसक्यो । केही दिनअघि मात्र नेपाली कांग्रेसका सांसद धनराज गुरुङले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेका थिए । सरकारले तत्काल यो नोटमा प्रतिबन्ध नलगाए देशको अर्थ व्यवस्था झनै संकटमा पर्ने उनको भनाइ थियो ।

जनताबाट चुनिएर आएका जनप्रतिनिधि अर्थात् सांसदले उठाएको कुराको जवाफ दिन सभामुखले सरकारलाई रुलिङ गर्नैपर्छ । र, यसको जवाफ प्रधानमन्त्री वा अर्थमन्त्रीले दिनुपर्छ । अहिले सर्वसाधारण भन्छन्, ‘सबैभन्दा धेरै पैसा राजनीतिक दलका नेतासँगै छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित केपीशर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपालले खर्बौ रकम थुपारेर राखेको सर्वसाधारणको आरोप छ ।

‘नभए किन यीनीहरु पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउदैन,’ आम जनता भन्छन् । अर्कोतर्फ एउटा साधारण व्यक्तिकै घरमा करोडौं भेटिन्छ भने नेताहरुको घरमा कति होला ? अहिले बजार पूरै मन्दीमा छ । व्यापारव्यवसाय ठप्प छ । घरजग्गा, गाडी र सेयरको किनबेच छैन । सहकारी सबै डुबिसके । लघुवित्त, फायनान्सहरु पनि डुबिसकेका छन् ।
अहिले बैंकमा समेत समस्या निम्तिएको छ । वास्तवमा बैंकमा पैसा नै छैन । तर, राष्ट्र बैंक यो कुरा बाहिरिन नदिन बैंकमा पैसा थुप्रियो मात्र भन्छ । प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनर जिम्मेवार भएनन् । सबैलाई आफ्नो स्वार्थ पुरा गर्न पाए पुग्यो । त्यसमाथि अर्थको विषयमा केही थाहै नभएको व्यक्तिलाई समग्र मुलुकको अर्थ व्यवस्था चलाउने जिम्मेवारी दिएपछि कसरी अर्थतन्त्रमा सुधार आउँछ ?

अहिले अर्थमन्त्री वर्षमान पुनले तत्काल एउटा निर्णय मन्त्रिपरिषद्मा लैजान आवश्यक छ । उनले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाई दुई हजारको नयाँ नोट निकाल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्छ । मन्त्रिपरिषद्ले यो निर्णय गरेमा अहिले बजारमा रहेको मन्दी एकाएक हट्ने छ । अर्कोतर्फ कर्मचारी, नेता, व्यापारी, सर्वसाधारणहरुले समेत घरमा लुकाएको पैसा बाहिरिनेछ ।

प्राइभेट बैंकबाट जनताको विश्वास गुमेको छ । बैंककै कर्मचारीहरुले बचतकर्ताको रकम हिनामिना वा चोरी गरेको घटना बाहिरिएपछि अहिले प्राइभेट बैंकहरुमा बचत गर्ने र कर्जा लिने कोही छैन । यता, सरकारी बैंकमा दश लाखभन्दा बढी रकम राख्दा स्रोत खुलाउनुपर्छ । स्रोत नखुलाए त्यो रकम गैरकानूनी हुन्छ । अनि स्रोत खुलाउन केही नभएपछि मानिसहरुले आफुसँग भएको रकम घरमै लुकाएका हुन् ।

पैसा जति लगानी भयो, त्यति नै बजार चलायमान हुने हो । तर, पैसा सबै घरमा लुकाएपछि कसरी बजार चलायमान
हुन्छ । उदाहरणका लागि मानिससँग पचास लाख छ । यदि त्यो पैसाले उसले पसल खोल्छ भने त्यसबाट रोजगारी सिर्जना हुन्छ अनि राज्यले पनि राजस्व पाउँछ । यति मात्र होइन त्यँही पैसा उसले बैंकमा राख्यो भनेपनि बैंकले त्यो पैसा विभिन्न क्षेत्रमा लगानी गर्छ । डिपोजिटकर्ताले समेत ब्याज पाउँछ ।

तर, बैंकमाथि विश्वास नरहँदा र डुब्ने त्रासले लगानी पनि नगरेपछि मानिसहरुले घरमै पैसा लुकाए । अनि त्यो पैसा घरमै फिज हुन पुगेको छ । अब मानिसले घरमै पैसा लुकाएपछि न त्यसबाट रोजगारी सिर्जना हुन्छ न त राज्यले राजस्व नै पाउँछ । यसैले, अहिले बजार चलायमान हुन नसकेको हो । बजारमा नयाँ लगानीकर्ता छैनन् । भएका पुराना पनि पलायन हुँदै गएका छन् ।

अहिले कपडा पसल, होटल, रेस्टुरेन्टहरुमा व्यापार छैन । तर, सुन पसलमा भने मानिसहरुको भीड लागेको देखिन्छ । किनकि मानिसहरुले घरमा लुकाएको पैसा सुनमा लगानी गर्न थालेका छन् । सुन किनेर ल्याउँछन् अनि घरमै लुकाएर राख्छन् । यद्यपि, सुनबाट जनता र राज्यलाई केही फाइदा छैन । यसले सीमित सुन व्यापारीलाई मात्र फाइदा पुगिरहेको छ ।

हिजो नाफा हुने लोभमा महंगोमा घरजग्गा, गाडी र सेयर किन्नेहरु अहिले चुलुम्मै डुबेका छन् । यसरी नै अहिले सुनमा लगानी गर्नेहरु पनि पछि डुब्ने छन् । जिम्मेवार पदमाबसेपछि जिम्मेवार कुरा गर्नुपर्छ । अहिले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी अर्थतन्त्र ठिकठाक रहेको दाबी गर्छन् । तर, अर्थतन्त्र साँच्चिकै ठिक छ भनेर किन नेपाल व्यापार घाटामा छ । किन विदेशी ऋण बढ्दै गएको छ ?

किन बजारमा तीन वर्षअघिजस्तो चहलपहल छैन ? किन राष्ट्र बैंकको खुकुलो नीतिका बाबजुद घरजग्गा, गाडी र सेयरको कारोबार बढ्न सकिरहेको छैन ? किन बजारमा कोठा, सटर र फ्ल्याटहरु खाली हुँदै गएका छन् ? किन व्यापारीहरु पलायन भइरहेका छन् ? किन नेपाली युवाहरु कामको खोजीमा विदेशिरहेका छन् ? अब यसको जवाफ सम्बिन्धत निकायले दिनैपर्छ ।

महालेखा परीक्षकको कार्यालय भन्छ, ‘सरकारको आम्दानीभन्दा खर्च दोब्बर भयो ।’ नेपाल सरकारले विदेशीसँग मात्र २७ खर्ब ऋण लिइसकेको छ । अहिले एकै नेपालीको टाउकोमा लाखौं विदेशी ऋणको भार छ । देशको आर्थिक अवस्था निकै कमजोर भइसक्यो । जनता खाना नपाएर आत्महत्या गरिरहेका छन् । तर, सरकारी कर्मचारीहरु तलब सुविधा बढाउनुपर्यो भन्दै आन्दोलन गर्छन् ।

कर्मचारीहरु अन्धो छन् । उनीहरुले देश र जनताको अवस्था देखेका छैनन् । अर्को वर्ष अर्थतन्त्र अझै नाजुक अवस्थामा पुग्ने अहिले आम नागरिक बताउँछन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक्सनमा जाने हिम्मत छैन । अर्थमन्त्री वर्षमान पुन पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान सक्दैनन् ।

बुढोपाकाले भन्थे, ‘कि अरुले काम गरेको देखेर सिक्नु कि आफैं गर्न सिक्नु ।’ प्रचण्ड प्रधानमन्त्री बनेपछि पटकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न भारत पुगे । बिडम्वना, उनले भारतले कब्जा गरेको नेपाली भूभाग मोदीसाग कुरा गरेर फिर्ता समेत ल्याउन सकेनन् ।

भारतले २०७३ सालमै भारतीय नोट पाँच सय र हजारमा प्रतिबन्ध लगाएको हो । अहिले नेपालमा देखिएकोजस्तो आर्थिक संकट त्यसबेला भारतमा पनि देखा परेको थियो । र, भारत सरकारले तत्काल यस्तो निर्णय गरी कार्यान्वयनमा ल्यायो । अहिले भारतको अर्थतन्त्र ठिकठाक छ ।

तर, प्रधानमन्त्री प्रचण्डले भारतको यो राम्रो काम पनि सिक्न गरेनन् । उनी जनताले तिरेको करमा भारत भ्रमण गर्न त पटकपटक भए तर उपलब्धि केही हासिल भएको छैन । मोदीसँग फोटो मात्र खिचेर आए । अहिले प्रधानमन्त्री प्रचण्डसँग देश र जनताको लागि काम गर्ने क्षमता नै भएको सर्वसाधारण नै भन्छन् ।

रुषा थापा