केही वर्षयता नेपालमा वैदेशिक रोजगारका लागि विदेशिने क्रम बढ्दो छ । गाउँदेखि सहरसम्म विदेशिने लहर चलेको
छ । कोही बाध्यताका कारण विदेश गएका छन् त कोही देखासिकी वा लहैलहैमा लागेर । झण्डै करोडकै हाराहारीमा नेपाली युवा विदेशमा छन् । खाडीमा कमाउन गएका उनीहरुले दिनरात र घामपानी नभनी दुःख गर्छन् । र, यता आफ्ना घरपरिवारलाई पैसा पठाउँछन् ।
तर, त्यो पैसा घरपरिवारले सोच्दै नसोची जथाभावी लगानी उनीहरुको पनि रुवाबासी शुरु भएको छ । छिट्टै नाफा कमाउने आशमा विदेशबाट श्रीमान–श्रीमती वा छोराछोरीले कमाएर पठाएको रकम घरजग्गा, गाडी र सेयरमा लगानी गरे । कोहीले सहकारी, लघुवित्तमा समेत पैसा जम्मा गरे । वित्तिय संस्था (सहकारी, लघुवित्त र फाइनान्स) हरुले बचतको २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन देखाए ।
त्यँही लोभमा परेर मानिसहरुले सोच्दै नसोची आफुसँग भएको वा विदेशबाट पठाइएको रकम वित्तिय संस्थामा जम्मा गरे । यता, कतिपयले मीटरब्याजमा समेत पैसा लगानी गरे । एक लाखको मासिक दश हजारदेखि तीस हजारसम्म ब्याज दिन्छु भनेपछि उनीहरुले पनि पैसा दिए । त्यस्तै, घरजग्गा, गाडी र सेयर दलालीहरुले पनि विभिन्न आश्वासन वा प्रलोभन देखाएर यस क्षेत्रमा लगानी गर्न बाध्य बनाए ।
अनि शुरु भयो डुब्ने प्रक्रिया । विदेशबाट श्रीमान वा श्रीमती, छोराछोरीले कमाएर पठाएको रकम उनीहरुलाई नै सोध्दै नसोधी घरजग्गा, गाडी र सेयरमा लगानी गरियो । दलालीहरुको लहैलहैमा लागेर आनाको एक लाख नपर्ने खेतीयोग्य जमिन ४५ लाखमा खरिद गरियो । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयरलाई पाँच हजारसम्म हालियो त भारतमा एक लाख नपर्ने गाडी यहाँ ३० लाखमा किनियो ।
अहिले यो क्षेत्रमा गरिएको लगानी डुबेपछि कतिपयले विदेशबाट फर्किएर आत्महत्या गरेका छन् त कतिपयको घरपरिवार नै लथालिंग बनेको छ । यँही कारणले कयौं श्रीमान–श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ त कतिपय घरपरिवार नै अलग्गिएका छन् । जीवनभर विदेशमा बसेर कमाएको रकम डुबेपछि कतिपयले सहन नसकेर आत्महत्या, हत्या समेत गरेका छन् । अहिले करोडौं जनताको घरमा यस्तो अवस्था सिर्जना भएको छ ।
हरेकको घरमा तनाव छ । सहकारीमा बचत गरेका बचतकर्ताहरु निक्षेप डुबेपछि कहिले आन्दोलन त कहिले अनशन बस्छन् । कतिपयले त आत्महत्या समेत गरिरहेका छन् । अहिले बैंकको अवस्था पनि सहकारीजस्तै भइसकेको छ । बजारमा सर्वसाधारण भन्छन्, ‘राष्ट्र बैंक बैंकमा पैसा थुप्रियो भन्छ तर कर्जा माग्न जाँदा बैंक दिँदैन ।’ बैंकमा पैसा छैन भन्यो भने बचतकर्ताले पैसा निकाल्ने त्रासमा बैंकसहित सरकार नै भ्रमको खेती गरिरहेको छ । तीन वर्षअघि सहकारीमा समस्या देखिएको थियो । सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको खबरहरु बाहिरिए ।
तर, राष्ट्रिय सहकारी महासंघसहित सरकारकै सम्बन्धित निकाय तथा प्रतिनिधिहरुले सहकारी ठिकठाक रहेको दाबी
गरे । अहिले सबै सहकारी डुबेका छन्, भागेका छन् । सहकारीका कारण बचतकर्ताहरुको रुवाबासी चलेको छ । बचत फिर्ता माग गर्दै उनीहरु दिनरात आन्दोलन गरिरहेका छन् । अब बैंकको पनि हालत सहकारीजस्तै हुने देखिन्छ । किनकि बैंकले भ्रमको खेती गरिरहेको छ ।
०४६ सालमा राजनीतिक परिवर्तन भयो । पञ्चायती व्यवस्था हटेर बहुदलीय व्यवस्था आएसँगै विदेश जान खुल्ला गरियो । त्यसअघि सरकारले आफ्ना देशका नागरिकलाई अन्य देशमा काम गर्नका लागि पठाउँदैन्थ्यो । तर, बहुदलीय व्यवस्थासँगै पैसा हुने विकसित मुलुक त पैसा नहुने खाडी जाने क्रम बढ्यो । विदेश खुलेको झण्डै ३६ वर्ष भयो । यो अवधिमा करोडौं नेपाली जनता विदेश गएका छन् ।
अहिले पनि मासिक लाखौं नेपाली युवाहरु विदेश गइरहेका छन् । नेपालीहरुले विदेशमा रगतपसिना बगाउँछन् अनि यहाँ पैसा पठाउँछन् । सरकार यति रेमिट्यान्स भित्रियो भन्छ अनि त्यो पैसाले पनि सरकारी कर्मचारी र नेताहरु मोजमस्ती गरिरहेका छन् । पञ्चायती व्यवस्थामा सरकारमाथि कुनै पनि विदेशी ऋणको बोझ थिएन । अहिले विदेशी ऋण नेपाल सरकारले २७ खर्ब लिइसक्यो । प्रत्येक नेपालीको टाउकोमा लाखौं रुपैयाँ विदेशी ऋण छ ।
रोचक कुरा त के छ भने विदेशमा कमाएर नेपालीले यहाँ पठाएको रकम कहाँ गयो ? सरकार रेमिट्यान्स बढ्दै गएको बताउँछ । तर, रेमिट्यान्स बढ्दै गएको हो भने किन यत्रो विदेशी ऋण लिएको ? अहिले अवैध तरिकाले समेत विदेशबाट नेपालमा पैसा पठाउने गरिएको छ । अनि दलालीको लहैलहैमा लागेर त्यो रकमले यहाँ घरजग्गा, गाडी र सेयरमा लगानी गरिन्छ । दलालीकै विश्वासमा परेर धेरै सर्वसाधारण अहिले डुबेका छन् ।
अहिले देश र जनता दुवै कंगाल भएका छन् । अनि विदेश गएर के फाइदा भो ? विदेश गएर उल्टै धेरैको घरपरिवार लथालिंग बनेको छ । जनता सुख खोज्दै विदेशिए तर उनीहरु दलालीहरुबाट ठगिए । नेताहरुको उनीहरुको पठाएको रेमिट्यान्समा मोजमस्ती गरे । अहिले देश विदेशी ऋणमा डुबेको छ । विदेश गएका नेपालीहरुको पैसा पनि घरजग्गा, गाडी, सेयर र वित्तिय संस्थामा फसेको छ । नेपालीहरु धन कमाउन विदेशिए । दशैं वर्ष विदेशमा रगतपसिना बगाएर कमाए । विडम्बना, यहाँ फर्किएर आउँदा घरजग्गा, गाडी, सेयर र सहकारीमा रकम डुबेको थाहा पाएपछि कोही झुण्डिए त कोहीको घरपरिवार नै लथालिंग बन्यो ।
अहिले बजारमा बुढा नेताहरुबाट केही हुन्न भन्ने व्यापक चर्चा छ । बुढा नेता भन्नासाथ केपीशर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, राजेन्द्र लिङ्देन, झलनाथ खनाल, बाबुराम भट्टराईलाई चिनिन्छ । यीनीहरुबाट देश विकासतर्फ नजाने आम नागरिक बताउँछन् । तर, आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाएर यता बसेर बुढा नेताहरुबाट केही हुन्न भन्छन् ।
अधिकार खोज्न कर्तव्य पनि पूरा गर्नुपर्छ । अनि आफ्नो कर्तव्य नै पूरा नगरी अधिकार लिन पाइन्छ ? यदि बुढा नेताहरुबाट केही हुन्न भने आफ्ना जवान छोराछोरीलाई राजनीतिमा लगाउनुपर्यो । बिडम्वना, यहाँ त आफ्ना छोराछोरी १२ पास गर्नेबित्तिकै लाखौं खर्चिएर अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक पठाइन्छ । अनि छोराछोरी त्यहाँ र आमाबुवा यहाँ बसेर देश विकास भएन भन्छन् ।
अहिले घरजग्गा, गाडी र सेयरमा जतिपनि मानिस फसेका छन्, ती सबै शिक्षित छन् । भनिन्छ नि लोभले लाभ, लाभले विलाभ । शिक्षित मानिसहरुले नै छिट्टो फाइदा कमाउन घरजग्गा, गाडी र सेयरमा लगानी गरे । ब्याजको लोभमा सहकारीमा बचत गरे । हिजो फाइदा हुनुञ्जेल मज्जाले कमाए पनि अनि अहिले डुबेपछि सरकारलाई दोष दिइरहेका छन् ।