Breaking News

विश्व स्वास्थ्य संगठनसँग अब कुनै सम्बन्ध रहेन

१७ जेठ, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

ट्रम्प प्रशासनले कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको हो ।

ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको रूप लिएपछि निरन्तर संगठनमाथि महामारीको उचित व्यवस्थापन गर्न नसकेको र चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आइरहेको थियो ।

अमेरिकाको यो निर्णय वासिङ्टन र बेइजिङबीच पछिल्लो समय बढ्दै गएको तनावकाबिच आएकाले यसलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

धेरैले यसलाई अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडेर हेर्दै आएका छन्। ट्रम्पको यस कदमलाई उनको राष्ट्रपति पुनः निर्वा्चित हुन प्रयोग गरिएको चीन विरोधी कार्डका रूपमा समेत हेरिएको छ ।

तर, संगठनसँग सम्बन्ध तोड्ने घोषणा गरेका ट्रम्प स्वयं देशभित्र महामारीविरुद्धको व्यवस्थापनका लागि आलोचित हुँदै आएका छन् ।

कोरोना भाइरसको महामारी सबैभन्दा पहिला चीनको हुबेई प्रान्तको वुहानबाट सुरू भएको थियो । त्यसयता यो महामारीले विश्वव्यापी रूप लिइसकेको छ। हाल कोरोनाबाट सर्वाधिक प्रभावित मुलुकको पहिलो नम्बरमा छ ।

अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता रहँदै आएको थियो । संगठनको कुल बजेटको झण्डै १५ प्रतिशत रकम अमेरिकाले बेहोर्दै आएको थियो । नयाँ निर्णयले दुबैपक्षको सन् १९४८ मा जोडिएको सम्बन्धमा विराम लगाइदिएको छ ।

ह्वाइट हाउसको रोज गार्डेनमा सम्बन्ध तोडेको घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि भाइरसको सही सूचना दिनुपर्ने जिम्मेवारी निर्वाह नगरेको र विश्व स्वास्थ्य संगठन पनि चीनको दबाबमा महामारीका बारेमा समयमै सूचना तथा चेतावनी नदिएको र यसले विश्वभर लाखौं मानिसको ज्यान गएको आरोप पुनः दोहोर्याए ।

’वार्षिक ४० मिलियन अमेरिकी डलरमात्र दिने चीनको नियन्त्रणमा विश्व स्वास्थ्य संगठन छ, जबकी अमेरिकाले उसको दाँजोमा संगठनलाई ४ सय ५० मिलियन डलर दिदैं आएको छ’, ट्रम्पले भने ।

ट्रम्पको यो निर्णय चिनियाँ राष्ट्रपति सि जिङपिङले गत साता आगामी दुई वर्षमा कोरोना महामारीसँग लड्न डब्लुएचओलाई दुई बिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेपछि आएको हो ।

चीनले घोषणा गरेको यो रकम झण्डै विश्वस्वास्थ्य संगठनको गत वर्षको बजेट बराबर हुन आउँछ ।

ट्रम्पले गत महिना संगठनलाई दिदैं आएको सहयोग रकम बन्द गर्ने घोषणा गरेका थिए । त्यतिबेला उनले संगठनलाई ३० दिनभित्र उसले सुधार गर्नुपर्ने कार्यहरूसम्बन्धी पत्र दिएका थिए ।

हाल विश्व स्वास्थ्य संगठनमा विश्वका १९४ राष्ट्र आबद्ध छन् ।

’उनीहरू अनुरोध गरिएको र एकदमै आवश्यक रहेको सुधार गर्न असफल भएका छन्। आज हामी विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्दै छौं र उसलाई दिदैं आएको सहयोग रकमलाई अरू विश्वव्यापी र अत्यन्त आवश्यक्तामा रहेका सार्वजनिक विश्व स्वास्थ्य कार्यहरूलाई दिनेछौं’, शुक्रबार ट्रम्पले भने।

उनको यो निर्णय कहिलेबाट कार्यन्वयनमा आउनेछ भन्ने बारेमा भने केही खुलाइएको छैन। सन् १९४८ मा संगठनसँग जोडिएको अमेरिकालाई संगठनसँग १ वर्षको समयसीमा दिएर अलग हुने अधिकार छ।

विश्व स्वास्थ्य संगठनले पछिल्लो अमेरिकी कदममा तत्कालै कुनै प्रतिक्रिया दिएको छैन।

उसले आफू चीनको प्रभावमा परेको भन्ने अमेरिकी आरोप र महामारीको व्यवस्थापन र चेतावनी दिन चुकेको आरोपको भने खण्डन गर्दै आएको छ।

’डब्लुएचओ देशहरूबिच सहकार्य हुने स्थान भएको सम्झिनु महत्वपूर्ण छ’, फिजिसियन फर ह्यूमन राइटसकी कार्यकारी निर्देशक डोना म्याकेले भनिन्।

’यो सघन संस्थाबाट यस्तो ऐतिहासिक महामारीका बेला हिँड्दा यसले अमेरिकी र विश्वका दुबै नागरिकलाई चोट दिन्छ’, उनले भनिन्।

डोनाल्ट ट्रम

लेखक : एजेन्सी