अझै सम्झना छ मलाई पहिलो पटक महिनावारी भएको क्षण । आठ कक्षामा पढ्थें म ।
महिनावारी भएपछि घरका कोही पुरूष सदस्यले हेर्न हुन्न भन्ने मान्यता अनुरूप मलाई फुपूको घरमा लगेर राखियो । फुपूको घरमा सिरानको तल्लामा एक्लो कोठा थियो जुन उहाँको स्टोरको रूपमा प्रयोग भैआएको थियो, मलाई त्यही बस्ने बन्दोबस्त मिलाइयो । भुइँमा एउटा गुन्द्री त्यसमाथि पुरानो तन्ना । झ्यालढोका ढ्याम्म लगाएर अँध्यारो पारिएको ।
म त्यसरी पहिलो पटक एक्लै सुत्दै थिएँ । स्यानिटरी प्याड त परको कुरा फुपूले आफूले पुरानो फाल्न राखेको धोती च्यातेर ’ल यही लगा’ भनेर दिनुभयो ।
अनी कोठाभित्र अलग्गै बस्नु र कतै नछुनु भन्नुभएको थियो ।
खाना–खाजा कोठा मै ल्याइदिनुहुन्थ्यो । ५ दिनसम्म स्कुल जान पाइएन । स्कुलमा त्यसरी लामो समयसम्म गयल भएको शायद त्यही पहिलोपटक थियो ।
स्कुलमा साथीहरूले किन नआएको भनेर सोद्धा लाजले भुतुक्क भएको आजैजस्तो लाग्छ ।
तर त्यो के लाज मान्नुपर्ने कुरा थियो ? प्रकृतिले किशोरअवस्था सुरू भएको जनाउ दिएको थियो । मलाई त्यतिबेला महिनावारी के हो भन्दा पनि के गर्नुहुन्छ ?, के गर्नुहुन्न ? भन्ने कुरा धेरै सिकाइयो । महिनावारीलाई ’नछुने’ को संज्ञा दिइने कुरा सिकाइयो ।
बुवा, दाजुभाइलाई छुन नहुने सिकाइयो, भान्सामा छिर्न नहुने सिकाइयो ,मठ मन्दिर जान नहुने सिकाइयो, कुनै चाड पर्वमा सहभागी नहुन सिकाइयो । तर महिनावारी भएपछि आउने शारीरिक र मानसिक परिवर्तनको बारेमा सिकाइएन ।
महिनावारी हुँदा बेला गर्नुपर्ने सरसफाइको कुरा सिकाइएन, महिनावारी हुँदाखेरी हुने पीडालाई कम गर्ने तरिका सिकाइएन । स्कुल जाँदा कसरी आफ्नो सरसफाइ गर्ने कुरा सिकाइएन । भन्नको लागि एक्कासौं सताब्दीमा जन्मिएको, सहरमा हुर्किएको तर मेरो लागि मासिक धर्म कुनै छाउगोठ भन्दा कम थिएन । स्कुलमा पनि वातावरण जनसंख्या र स्वास्थ्य पढाउने शिक्षक पुरूष हुनुहुन्थ्यो, शायद यस विषयमा उहाँले पनि त्यति खुलेर बुझाउन सक्नुभएको रहेनछ भनेर अहिले बुझ्दैछु ।
महिनावारीलाई अझै पनि लाजको विषयमा सीमित राख्नुले अहिले पनि मेरा बहिनीहरू महिनावारी हुँदा आफ्नो दाजुभाइसामु बस्न अप्ठ्यारो मान्छन् ।
के कुनै पुरूषलाई अनुहारनै ढाकिने गरी दाह्रीजुंगा आउँदा लाज भएको छ ? वा कसैले दाह्रीजुंगा आयो भनेर उहाँहरूलाई छुट्टै कोठामा राखिएको छ ? किनकी त्यो दाह्रीजुंगा आउनु पनि केटाहरू किशोर अवस्थामा प्रवेश गरेको जानकारी हो । हैन भने एउटै परिवारभित्र यस्तो भेदभाव किन ? हामी निकै फूर्ति लगाउँछौं, आफूलाई प्रगतिशील भन्नमा गर्व गर्छौं ।
छोरा–छोरी समान हो भनेर छोरीहरूको शिक्षालाई प्राथमिकता दिएका छौं उनीहरूलाई पनि आत्मनिर्भर बनाउन प्रयासरत छौं । तर पनि उनीहरूको सम्मानमा ठेस र्पुयाइरहेका छौं ।
शारीरिक पीडा त छँदैछ मानसिक रूपले पनि मासिक धर्मका बेला हामी आफ्नै परिवारका सदस्यबाट अपहेलित महशुस गरिरहेका हुन्छौं । भान्सा कोठामा छिर्न नहुने, धर्मको नाममा अनेकौ त्रास र तनाव पनि सिर्जना गराइन्छ । यहाँसम्म कि कुनै फलको बोट छोएमा त्यसमा फल नलाग्ने जस्ता अन्धविश्वास पनि हाम्रै घरभित्र विद्यमान
छन् ।
आफूलाई प्रगतिशील भन्न मन पराउने मेरो काका वर्षौंदेखि आइएनजिओमा सुदूरपश्चिममा छाउप्रथा उन्मूलनमा संलग्न हुनुहुन्छ ।
यद्यपी उहाँले आफ्नो घरभित्रको छाउ उन्मूलन गर्न सक्नुभएको छैन । हामी अझै पनि चाहेर या नचाहेर महिलामाथि दुर्व्यवहार गरिरहेका छौं । चाहे त्यो पुरूषबाट गरिएको होस् या महिलाले महिलामाथि नै गरिएको किन नहोस् । महिनावारी जसलाई ’नछुने’ को नामले चिनिन्छ यसको ज्वलन्त उदाहरण हो ।
सरसफाइ र प्रजनन स्वास्थ्य शिक्षामा जोड दिनुपर्नेमा हामी त्यसलाई लाज, चलिआएको चलन र धर्मको नाममा प्रोत्साहन गरिरहेका छौं । के यो सोच परिवर्तन गर्ने बेला भएन र ?
सेतोपाटीबाट