Breaking News

कांग्रेस, एमाले र एकीकृत समाजवादीका नगर सदस्यलाई मेयर बालेन शाहको चेतावती

काठमाडौं महानगरपालिकाको आज बिहान बसेको नगरसभाको बैठक नेपाली कांग्रेस, नेकपा (एमाले) का नगरसभा सदस्यहरुले बहिस्कार गरेपछि मेयर बालेन शाहले आगामी नगर सभा बैठकमा पार्टीबो धङधङी बोकेर नआउन चेतावनी दिएका छन्।

कांग्रेस, एमाले, एकीकृत समाजवादीका नेताहरूलाई लक्षित गरेर उनले सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन्।

बैठक सुरू हुनपूर्व वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल, ३२ का अध्यक्ष नवराज पराजुली र १७ का अध्यक्ष नवीन मानन्धर अलग्गै छलफल गरेका थिए।

डंगोल एकीकृत समाजवादीका नगर सभा दलका नेता हुन् भने पराजुली एमालेका र मानन्धर कांग्रेसका हुन्।

‘नगर सभामा १६२ जना सदस्यले नै किन बोल्नु, सबैका तर्फबाट तीन जना नेताले बोल्ने भनेर हामीले बुँदा टिपोट गरेका थियौं। एमालेका तर्फबाट १६–१७ वटा बुँदा टिपिएको थियो,अरू दलका तर्फबाट बुँदा टिपिँदै थियो,’ वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले भने, ‘मेयरसापले यता बैठक सुरू गरिसक्नुभएछ।’

बैठक सुरू गर्न लागेपछि कर्मचारीहरू तीन वडाध्यक्ष खोज्दै आएको र अलग्गै छलफल गरिरहेको थाहा पाएपछि मेयर बालेनले बैठक नगर सभा स्थगित गरेको वडाध्यक्ष महर्जनले बताए।

‘हामीले मेयरसापलाई एकछिन ढिला सभा सुरू गरौं, १६२ जनाकै तर्फबाट तीन नेताले कुरा राख्नुहुन्छ। सभा सञ्चालन व्यवस्थित हुन्छ। केही समय पर्खिइदिनुस् भन्दा उहाँले सभा स्थगित गर्नुभयो,’ महर्जनले भने, ‘हाम्रा कारण आजको सभा स्थगित भएको होइन। मेयरसापले नै तपाईंहरू एक हप्ता छलफल गर्नुस् भन्दै स्थगित गर्नुभएको हो।’

यता मेयर बालेनले भने तीन जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताएका छन्।

‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारे छलफल बन्द कोठामा हुँदैन। जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन् । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौ,’ मेयर बालेनले भनेका छन्।

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा नरहने उनको भनाइ छ।