Breaking News

गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाए तर कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत जाने

२३ वैशाख, पोखरा । गण्डकी प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिन्छ । आवश्यक अवस्थामा आफूलाइ पनि मत हाल्न पाउने अधिकार रहेको बताउँदै सभामुख धितालले राजनीतिक हिसाबमा एमाले–माओवादीकै चाहना अनुसार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्रीले राखेको विश्वासको मतको पक्षमा एमालेका २२, माओवादीका ७ र दीपक मनाङे गरी ३० जनाले समर्थन जनाएका थिए । त्यसमा आफू पनि निर्णायक बनेर सभामुखले अधिकारीलाई मत दिलाएका हुन् ।

नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे भने राप्रपाका २ जना तटस्थ बसेका थिए ।

यससँगै सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।

आइतबार प्रदेश सभामा पेस विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेको थियो । त्यही मतलाई सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिन्छ ।

नेपाली कांग्रेस गण्डकीका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक काम गरेको बताएका छन् ।

‘संविधानको धारा १८८ को उपधारा ३ मा भएको व्यवस्था अनुरूप प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत मत प्राप्त गर्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी मा. सभामुखले असंवैधानिक तबरबाट मुख्यमन्त्री मा. खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको भनी गर्नुभएको घोषणा/निर्णय पूर्ण रूपमा असंवैधानिक, संसदीय अभ्यास र परम्पराविरुद्ध छ,’ विज्ञप्तिमा भनिएको छ ।

सभामुखजस्तो जिम्मेवार भूमिकाबाट दलीय पक्षधरताको आधारमा कसैलाई सत्तामा पुर्‍याउनका लागि संविधानको खिलापमा कार्य हुनु दुःखद भएको कांग्रेसले जनाएको छ ।