२३ वैशाख, काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ । ढुंगानाको ठाउँमा चक्रबहादुर बुढालाई पठाइएको छ ।
बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो । बुढालाई राजस्व अनुसन्धान विभागमा पठाएर ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी छ ।
कलकत्ताको महावाणिज्यदूत ईश्वरराज पौडेललाई भने परराष्ट्र मन्त्रालयमा तान्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
गत असार २०८० मा राजस्व अनुसन्धान विभाग महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए । उनी त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिव थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गरेपछि उनी चर्चामा आएका थिए ।
अमेरिकन कम्पनी कोटिभिटीविरुद्ध कर छलीको मुद्दा चलाएपछि उनीमाथि निजी क्षेत्रले विभिन्न प्रश्न उठाएका थिए । राजस्व मामिलाको ज्ञान नराखी मुद्दा दायर भएको भन्दै आलोचना भएपछि उनलाई विभागभन्दा आकर्षक मानिने महावाणिज्यदूत पदमा पठाउन लागिएको हो ।
यसरी पटक–पटक महानिर्देशक फेर्दा राजस्व अनुसन्धान विभागको नेतृत्व भने अस्थिर बनेको छ । ढुंगानाभन्दा अघिका महानिर्देशक रहेका नारायण सापकोटाले तीन महिना मात्रै विभागमा काम गर्न पाएका थिए ।
राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत रहने निकाय हो । विभाग प्रधामन्त्री कार्यालय मातहत ल्याएपछि पटक–पटक हुने महानिर्देशक परिवर्तनका कारण विभागले राम्रोसँग अनुसन्धानको काम गर्न पाएको छैन ।
ओली सरकारका पालामा राजस्व अनुसन्धान विभागलाई अर्थबाट तानेर प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएपछि यसको दुरुपयोग बढ्दै गएको छ ।
राजनीतिक नेतृत्वले यो विभागलाई नाजायज ढंगले प्रयोग गर्ने क्रम बढेको निजी क्षेत्रले आरोप लगाउँदै आएको छ । त्यसमाथि पटक–पटक नेतृत्व परिवर्तनका कारण विभाग निकम्मा र भुत्ते हुँदै आएको छ ।
पछिल्लोपटक सवैभन्दा लामो सयमसम्म विभागको नेतृत्व दीर्घराज मैनालीले गरेका थिए । उनले २०७५ जेठदेखि ७७ फागुनसम्म विभागको नेतृत्व गरेका थिए । त्यसपछि आएका रामप्रसाद आचार्य ७ महिना महानिर्देशक बने । उनीपछि प्रकाश पौडेल विभागको नेतृत्वमा आएका थिए, जो ८ महिना पनि टिक्न सकेनन् ।
असार२०७९ मा विभागमा आएका झलकराम अधिकारी चार महिनामै सरुवा भए भने कार्तिक २०७९मा महानिर्देशक बनेका मदन दाहाल तीन महिना पनि टिक्न सकेनन् । गत माघमा विभागमा पठाइएका नारायण सापकोटालाई चार महिनामै सरकारले सरुवा गरेर प्रधानमन्त्रीका निजी सचिवका रुपमा काम गरिरहेका सहसचिव ढुंगानालाई पठाएको थियो ।
राजस्व चुहावटमाथि अनुसन्धान गर्ने निकायका रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विभाग पछिल्लो दिनमा राजनीतिक नेतृत्वको इसारामा चल्ने गरेको आरोप छ । व्यवसायी र राजनीतिक नेतृत्वको स्वार्थपूर्ति हुन नसक्ने भए महानिर्देशक सरुवा गरिहाल्ने प्रवृत्ति देखिएको छ ।