काठमाडौँ । सहकारी ठगीमा राप्रपाकी एक सांसद मुछिएकी छन् । राप्रपा सांसद गीता बस्नेतमाथि नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको हो ।
बस्नेतसहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही आधारमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्नका लागि अदालतसँग अनुमति माग गरेकोमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एक अधिकृतले पुष्टि गरे ।
सांसद सहितको समूहले डेढ करोड हिनामिना गरेको देखिएको छ भने सो रकम गैरकानुनी रुपमा कृष्णसार नामक रिसोर्टमा लगानी गरेको खुलेको छ ।
सांसद बस्नेत अहिले फरार रहेको प्रहरीको भनाइ छ । बस्नेत समानुपातिकबाट राप्रपाको सांसद बनेकी हुन् ।