Breaking News

माओवादी घटकबिच पार्टी एकता र आगामी निर्वाचन उपयोग गर्ने नीति लिन्छौं

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माओवादी घटकबिच पार्टी एकता र आगामी निर्वाचन उपयोग गर्ने नीति अघि सारेको छ । केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा सम्पन्न केन्द्रीय समिति बैठकले यस विषयमा महत्त्वपूर्ण निर्णय गरेको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जानकारी दिए ।

देशको अवस्था निकै तरल र गम्भीर मोडमा रहेको विश्लेषण गर्दै उनले वामपन्थीबिच फराकिलो मोर्चा निर्माण गर्न विचार मिल्नेसँग एकता गर्दै जाने गरी बैठकले निर्णय गरेको जानकारी दिए ।

विचार मिल्नेसँग एकता गर्दै जानुपर्छ । त्यसका लागि पहिला माओवादी धारसँग एकताबद्ध हुनेगरी पार्टीले पहल गर्ने, त्यसपछि सबै कम्युनिस्ट पार्टीसँग पनि एउटै कम्युनिस्ट आन्दोलन निर्माण गर्न सकिन्छ कि भन्नेमा बहस गर्ने । त्यति अहिले गर्न नसके स्वाधीनताका रक्षाका लागि एउटा वृहत् कम्युनिस्ट मोर्चा वा वाम मोर्चा वा समाजवादी मोर्चा बनाउन मेहनत गर्नुपर्छ भन्ने विषयमा बैठकले निर्णय गरेको छ ।

साथै वृहत् समाजवादी आन्दोलनलाई सफल बनाउन नेकपाले नेतृत्व गर्ने उनले बताए । देशलाई समाजवादी हुँदै साम्यवादी व्यवस्थामा लैजान तीन वटा विकल्प पनि विप्लवले अघि सारे । ‘पहिलो, संविधान परिवर्तन गरेर समाजवादी संविधान बनाउने । दोस्रो, बुर्जुवा गणतन्त्र कि साम्यवादी गणतन्त्र भन्नेमा जनमत सङ्ग्रहमा जाने । तेस्रो, जनवादी आन्दोलन गरी समाजवादी शक्ति निर्माण गर्ने । त्यसका लागि समाजवादी शक्तिको नेतृत्वमा सरकार, सदन र सडकबाट सङ्घर्ष गर्ने’, उनको भनाइ छ ।

यस्तै नेकपाले २०८४ को निर्वाचनलाई समाजवादको अभियानका रूपमा उपयोग गर्ने नीति अघि सारेको छ । चुनावी मोर्चाको उपयोगबारे प्रस्ट पार्दै विप्लवले भने, ‘संसद् र सरकार बनाउन मात्र पार्टीले चुनावको उपयोग गर्न लागेको होइन । समग्र समाजवादी अभियानका रूपमा यसलाई प्रयोग गर्न सकिने सम्बन्धमा बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ ।

यस्तै बैठकले देशको परिस्थिति अत्यन्तै अस्थिर र गम्भीर रहेको निष्कर्ष निकाल्दै एमसिसी, महँगी, भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउने निर्णय गरेको छ । साथै आन्तरिक राजनीति निकै गिजोलिएको भन्दै विप्लवले यसले नेपालको अर्थतन्त्र, सांस्कृतिक र सामाजिक क्षेत्रमा गम्भीर प्रभाव परिरहेको दाबी गरे ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’