जाजरकोट झडपमा बेपत्ता भएका एक जनाको शव फेला पर्र्यो, नदीमा हाम फालेकाहरूलाई पनि ढुंगामुढा प्रहार भयो घाइतेको बयान

जेठ १४, काठमाण्डौ । हालै मात्र जातीय झडपबाट बेपत्ता भएका तीन जना मध्यका एक जनाको शव जाजरकोटको भेरी नदीमा फेला परेको छ ।

भेरी नगरपालिकाका लोकेन्द्र सुनारको शव कुदु भन्ने नदीमा तैरिएको अवस्थामा गोताखोरले फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये सोमबार बेलुकी जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. ४ का का १७ वर्षीय गणेश बुढा मगरको शव फेला परेको थियो ।

घटना भएकै दिन शनिबार राति १० बजेतिर केटी लिन भनेर सोती गाउँ पुगेका सोही ठाउँका २१ वर्षीय नवराज विकको र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षीय टीकाराम सुनारको शव आइतबार बिहान सानी भेरी नदी किनारमा फेला परेको थियो ।

गत शनिबार बेलुका ५ बजेतिर मल्ल थरकी केटीलाई भगाएर ल्याउने भन्दै मृतक नवराज विकले थप १८ जना साथी लगेर रुकुमपश्चिमको चौरजहारी पुगेको समयमा घटना भएको थियो ।

त्यहाँ जानेमध्ये केही युवा सल्यान र बाँके, जाजरकोट र रुकुम पश्चिम जिल्लाका समेत रहेको प्रहरीले जानकारी दिएको छ ।

रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी केसीले बेपत्ता युवाहरूको उद्धार र खोजी कार्यका लागि कर्णाली प्रदेशबाट ३० जना थप जनशक्ति आएको जानकारी दिएका
छन् ।

घटना अनुसन्धान कार्यमा सहयोगका लागि संघीय प्रहरी इकाईबाट एक जना प्रहरी निरीक्षकको कमाण्डमा थप दुई जनाको टोली पनि यसअघि नै त्यहाँ पुगेको छ ।

गृह मन्त्रालयले पनि मंगलबार घटनाको निष्पक्ष छानबिन गर्न भन्दै एउटा समिति बनाएको छ ।

जातपात मिसिएर वियोगान्त बनेको प्रेमकथा

रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा शनिबार साँझ भएको एउटा घटनाको अहिले देशैभरि चर्चा छ ।

मल्ल थरकी प्रेमिकालाई भगाउन आएका भेरी नगरपालिका–४ जाजरकोटका नवराज बिक र उनका दुई जना साथीको मृत्यु भएपछि यो घटनासँग नेपाली समाजमा व्याप्त छुवाछुत र जातीय विभेद जोडिएको छ ।

नवराज र १७ वर्षीया ती किशोरीको यो वियोगान्त प्रेम कहानीमा जातपातसँगै अरू कुरा पनि मिसिएका छन् ।

नवराज र किशोरी तीन वर्षदेखि प्रेममा थिए । यो कुरा उनीहरू दुबैको परिवारलाई थाहा थियो ।

केटातर्फको परिवारलाई पनि पहिल्यै थाहा भइसकेको थियो, आमाले जात नमिल्ने भएकाले अगाडि नबढ्न छोरालाई भन्नुभएको रहेछ,’ उनले भने, ‘केटीतर्फकोले पनि सम्बन्ध बारे थाहा पाएर अलग गराउने चेतावनी दिइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले उनीहरूको प्रेम सम्बन्ध बारे पहिला पनि विवाद भएको बताए ।

‘लकडाउन सुरू हुनुभन्दा पहिला पनि बिक चौरजहारीस्थित केटीको घरमा पुगेका थिए । छोरी भागेर जान थालेको थाहा पाएपछि उनका अभिभावकले प्रहरीलाई खबर गरेछन्,’ डिएसपी श्रेष्ठले भने ।

प्रहरीले उनीहरू दुबै जनालाई चौकी ल्यायो ।

केटीको उमेर नपुगेकाले पछि विवाह गर्नु भनेर सम्झाइबुझाइ गरेर पठाइदियो ।

कानुनले तोकेको उमेर पो पुगेको थिएन, उनीहरूले मन भने विवाहका लागि आत्तिसकेको थियो । उनीहरूले फोनमै फेरि भाग्ने योजना बनाए । शनिबार नवराज आफ्ना १८ जना साथीलाई सँगै ल्याएर चौरजहारी आए ।

उनको साथी आएकाहरू गैरदलित समुदायका पनि थिए । तीमध्ये एक गणेश बुढाको सोमबार साँझ भेरी नदीको किनारमा शव फेला परेको छ । बुढा र नवराज छिमेकी थिए ।

नवराज आफ्ना साथीसहित वडामा आएको चौरजहारी–८का वडाध्यक्ष डम्मरबहादुर मल्ललाई कसैले खबर गरिदियो । त्यतिबेला उनी बाहिरबाट आएकालाई राख्न बनाइएको क्वारेन्टिनमा थिए । उनले साँझ पाँच बजेतिर आफूले यो खबर पाएको बताए ।

‘लकडाउन कार्यान्वयन गर्न हामीले एक वडाबाट अर्को वडामा जान बन्द गरेका बेला जाजरकोटबाट ठूलो समूहमा युवाहरू आएको सूचना मैले इलाका प्रहरी कार्यालयलाई दिएँ,’ वडाध्यक्ष मल्लले भने,‘तर प्रहरी समयमा आएन । गाउँमा पुगेर उनीहरूले केटीकी आमासँग भनाभन गरेछन् ।

त्यसपछि क्वारेन्टिनबाट आफू गाउँ गएको उनले बताए ।

‘औल भन्ने ठाउँमा पुग्दा गाउँलेहरूले युवाहरूलाई लखट्दै आएको भेट्टाएँ । त्यतिबेला झन्डै साढे पाँच बजेको थियो । ५ मिनेटपछि प्रहरी पनि सोही ठाउँमा पुग्यो,’ उनले भने ।

गाउँलेहरूले १२ जना युवालाई नियन्त्रण लिएर राखेका थिए । ती सबैलाई प्रहरीको जिम्मा लगाए ।

पहिला पनि आएका नवराज फेरि दलबलसहित आएको देखेपछि केटीकी आमा ‘दलितको छोराले हाम्री छोरी भगाउन लाग्यो’ भन्दै कराइछन् ।

‘युवाहरूले उनको कुरा सुनेको नसुन्यै गरेछन् । विनोद मल्लको घर कहाँ छ भन्दै हिँडेछन्,’ वडाध्यक्ष मल्लले भने,‘पहिलो पटक केटी भगाउन आएको बेला प्रहरी चौकी र्पुयाएको भन्दै विनोदसँग नवराज रिसाएका थिए ।

त्यसपछि गाउँलेहरूले ती युवाहरू झगडा गर्न आएको ठानेर लखेटेको वडाध्यक्ष मल्लले बताए ।

‘उनीहरू १९ जनामात्रै तर गाउँका १०० जना जति पुगेपछि उनीहरूको जोर चलेन अनि ज्यान जोगाउन भागेछन्,’ मल्लले भने ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जाजरकोटका युवालाई सोती गाउँका मानिसले कुटपिट गर्दै लखेटेपछि ज्यान जोगाउन भाग्दाभाग्दै नदीमा हाम फालेको बताए ।

‘गाउँले कुटपिट गर्न थालेपछि सबै भागाभाग गरे, सबै ज्यान जोगाउन लागे,’ डिएसपी केसीले भने ‘नदीमा हाम फालेकाहरूलाई समेत माथिबाट ढुंगामुढा भयो भन्ने बयान घाइतेहरूले दिएका छन् ।

गाउँलेहरूले लखेट्दै उनीहरूलाई नदी किनारसम्म र्पुयाए ।

पौडेर नदी पार गर्छु भन्नेहरूले भेरीमा हाम फाले । नसक्नेले आत्मसमर्पण गरेको डिएसपी केसीले बताए ।

‘नदीमा हाम फालेकाहरूमाथि पनि गाउँलेहरूले ढुंगाले हाने, पहिला नै घाइते भएका उनीहरू पौडिन सकेनन् होला,’ डिएसपी केसीले भने ।

प्रहरीले गाउँलेले बुझाएका १२ जनालाई जिल्ला अस्पताल ल्यायो। नदीमा हाम फालेका ७ जनाको खोजी सुरू र्गयो। राति १० बजेतिर भेरी किनारमा नवराजको शव फेला र्पयो।

उनको शव भेटिएको केही तल आइतबार बिहान टीकाराम सुनारको शव भेटियो । टीकारामको शव भेटिएको ठाउँबाट तीनरचार किलोमिटर तल सोमबार साँझ गणेश बुढा मगरको शव फेला परेको छ ।

१८ वर्षका लोकेन्द्र सुनार र सञ्जु बिक र १७ वर्षीय गोविन्द शाही अझै बेपत्ता छन् ।

नदीमा हाम फालेका एक जना भने पछि प्रहरीको सम्पर्कमा आएको डिएसपी केसीले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएका १२ मध्ये १० जनाको अवस्था सामान्य छ । २ जना पनि जिल्ला अस्पताल चौरजहारीको उपचारपछि सोमबार डिस्चार्ड भइसकेको डिएसपी केसीले जानकारी दिए ।

घाइते युवाले आफू केटी लिन भनी रूकुम आएको भए पनि यस्तो होला भन्ने थाहा नभएको प्रहरीलाई बताएका छन् ।

‘हामी केटीको घर पुग्दा गाली गर्न थाले अनि गाउँले पनि आए त्यसपछि लखेटे अनि ज्यान जोगाउन भाग्ने काम भयो र त्यही क्रममा घेराबन्दी गरेर कुट्ने काम गरे,’ डिएसपी केसीले घाइते युवाको भनाइ उद्धृत गर्दै भने ‘लखेट्दै भेरीसम्म र्पुयाए अनि ज्यान जोगाउन कतिपय साथीले नदीमा हाम फालेका थिए ।

समाचार सेतोपाटीबाट