कोरोना संक्रमण नियन्त्रण भएका मुलुकमा दोस्रो चरणको लहर फैलिन सक्छ

डब्लूएचओ

१४ जेठ, काठमाण्डौ । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण नियन्त्रण भएका मुलुकहरुमा संक्रमणको दोस्रो लहर फैलिन सक्ने चेतावनी दिएको छ ।

ती देशहरुले संक्रमण नियन्त्रण भयो भन्दै लगाइएका प्रतिबन्धहरु हटाउन हतार गरे महामारीको दोश्रो लहर आउने चेतावनी डब्लुएचओले चेतावनी दिएको हो ।

’विश्व अझै पनि कोरोना भाइरसको प्रकोपको पहिलो लहर बीचमा छ,’ डब्ल्युएचओका आपतकालिन प्रमुख डाक्टर माइक रायनले एक अनलाइन ब्रिफिङमा भने, ’धेरै देशहरूमा केस घट्दो छ तर मध्य र दक्षिण अमेरिका, दक्षिण एसिया र अफ्रिकामा भने संक्रमित केस दैनिकी वृद्धि भइरहेका छन् ।

महामारी प्रायः लहरमा आउने चेतावनी दिदैं रायनले कोरोना भाइरसको पहिलो लहर फैलिएर नियन्त्रणमा आएका देशहरुमा पुनः सुरु हुनसक्ने बताएका हुन् ।

’संक्रमणको पहिलो लहर आफै आउँछ र यसको केही महिना पछि पुनरावृत्ति हुन्छ । भाइरसको पुनरावृत्ति धेरै देशहरूका लागि केही महिनापछि वास्तविकता हुन सक्छ,’ रायनले भने, ’तर हामीले यस तथ्यलाई पनि ध्यान दिनु आवश्यक छ कि यो रोग कुनै पनि समय बढ्न सक्छ । संक्रमित संख्या घट्दै गएको छ भन्दैमा हामी भाइरस पूर्ण नियन्त्रणमा आएको अनुमानहरू गर्न सक्दैनौं।तर संक्रमणको दोस्रो लहरका लागि तयार हुन हामीसँग समय छ । दोस्रो लहरमा संक्रमित संख्या वृद्धि हुन सक्छ ।

भाइरसको दोस्रो लहर तत्काल सुरु नहुने हुँदा रायनले युरोप र उत्तर अमेरिकी देशहरु यतिबेला सार्वजनिक स्वास्थ्य र सामाजिक, निगरानी, परीक्षणका उपायहरूसँगै र एक व्यापक रणनीतिसहित तयार रहनुपर्ने सल्लाह दिएका छन् ।