१३ वर्षीया बालिकालाई २५ वर्षे युवकले बलात्कार गर्छ तर हुन्छ उसैसँग विवाह गर्नुपर्ने यो कस्तो न्याय हो ?

१४ जेठ, काठमाण्डौ । एक १३ वर्षीया दलित बालिकालाई बलात्कार गरे बापत् २५ वर्षीय युवकलाई तीनै बालिकासँग बिहे गर्ने सजाय सुनाएको छ । २१औँ शताब्दीमा यस्तो न्याय अन्त कही नभएर हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो । जसले बलात्कार गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले ।

दलित परिवारको पक्षमा बोलिदिने कोही भएन, त्यसैले समाजको न्याय मानेर बलात्कारी पुरुषको पछिपछि गएकी बालिका त्यही साँझ गाउँको रूखमा भेटिइन्, झुन्डिएको अवस्थामा ।

घटना हो रुपन्देही देवदहको । शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासी घरबाट हराइन् । बुबाको निधन भइसकेको छ । आमाले हारगुहार गरिन् । गाउँले जम्मा भएर खोज्न हिँडे । राति ११ बजे उनी नजिकैको खरबारीमा भेटिइन्, उनको साथमा थिए स्थानीय २५ वर्षीय वीरेन्द्र भर ।

भरले बालिकालाई फकाएर शारीरिक सम्बन्ध राखेको स्थानीय बासिन्दाहरूको भनाइ छ । तर, १३ वर्षीया अबोध बालिकालाई जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी र मानवीय रूपमा बलात्कार हो, जघन्य अपराध हो ।

समाचार आजको नयाँ पत्रिका दैनिकमा बाट ।