प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई कडाई गर्दै अबदेखि प्रत्येक दिन प्रधानमन्त्रीले आफ्नो कामबारे ब्रिफिङ गर्नुपर्ने

काठमाडौँ । अबदेखि सङ्घीय मन्त्रीह्ररुले प्रत्येक दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो कामबारे ब्रिफिङ गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री प्रचण्डले दिएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले प्रत्येक मन्त्रीले हरेक दिन ब्रिफिङ गर्नुपर्ने व्यवस्था गरिएको बताए । ‘प्रत्येक दिन बेलुका दिनभरि गरेकामध्ये ठुलो र राम्रो कामको ब्रिफिङ गर्ने निर्णय गरिएको छ’ प्रधानमन्त्रीले बैठकमा भने, ‘यो निर्णयले सबै मन्त्रीलाई काम गर्न बल पुग्छ । मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ ।’
पछिल्लो समय कर्मचारीहरूले काम गर्न नमान्दा समस्या देखिएको हो कि भन्ने स्थिति आएको अनुभव सुनाउँदै प्रधानमन्त्री प्रचण्डले यो स्थिति अन्त्य गर्ने प्रयास भइरहेको बताए । राजनीतिक नेतृत्व र कर्मचारीले एक अर्कालाई साथ र सहयोग नगरेमा कोही पनि सफल नहुने भन्ने विश्लेषण मन्त्रिपरिषद् बैठकमा भएको थियो । त्यही आधारमा प्रत्येक मन्त्रीले हरेक दिनका कामको ब्रिफिङ गर्नुपर्ने निर्णयमा पुगेको उनले बताए ।