Breaking News

चैत २७ गतेदेखि वैशाख ५ सम्म हुने भक्तपुरको प्रसिद्ध ’बिस्काः जात्रा’को तयारी तीव्र

काठमाडौँ । आउँदो चैत २७ गतेदेखि सुरु भई वैशाख ५ गते सम्पन्न हुने भक्तपुरको प्रसिद्ध ’बिस्काः जात्रा’को तयारी तीव्र रूपमा अघि बढेको छ । जात्राका लागि श्रीभैरवनाथको रथ निर्माण कार्य पनि करिब अन्तिम चरणमा पुगेको छ ।

बिस्काः जात्राको लागि तान्त्रिक विधिअनुसार काठ काठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्रीभैरवनाथको रथ निर्माण कार्यका लागि अहिले स्थानीय कालिगडहरू जुटिरहेका छन् ।

८ रात ९ दिनसम्म मनाइने यो जात्रा काठमाडौँ उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये एक हो । लिच्छवी कालदेखि सुरु भएको यो ऐतिहासिक जात्रा विक्रम संवतको नयाँ वर्षको चार दिनअगाडि मनाइन्छ । जात्राको पहिलो दिन चैत २७ गते श्रीभैरवनाथ र श्रीभद्रकालीको रथ तानेर सुरु गरिन्छ ।

चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गरिन्छ ।