विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो वरीयतामा नेपाल तीन स्थान खस्कियो

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो वरीयतामा नेपाल तीन स्थान खस्किएको छ।

फिफा विश्वकप छनोटमा बहराइनसँग दुई खेलमा पराजित भएको नेपाल अप्रिल महिनामा जारी गरिएको वरीयतामा १७८औं स्थानमा छ।

दक्षिण एसियाली फुटबल महासंघ साफको वरीयतामा शीर्ष स्थानमा रहेको भारत पनि चार स्थान तल झर्दै १२१औं स्थानमा पुगेको छ।

साफको दोस्रो स्थानको माल्दिभ्स १६१औं स्थानमा छ। साफमा नेपाल भने तेस्रो स्थानमा छ।

चौथो स्थानको बंगलादेश १८४औं स्थानमा, पाँचौ स्थानको भुटान १८५औं स्थानमा, छैटौं स्थानको पाकिस्तान १९५औं स्थानमा र सातौ स्थानको श्रीलंका २०४औं स्थानमा छन्।

विश्व वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना, दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा बेल्जियम, चौथो स्थानमा इंग्ल्यान्ड, पाँचौ स्थानमा ब्राजिल, छैटौं स्थानमा पोर्चुगल, सातौं स्थानमा नेदरल्यान्ड्स, आठौं स्थानमा स्पेन, नवौं स्थानमा इटाली र दशौं स्थानमा क्रोएसिया छन्।