Breaking News

संवैधानिक परिषद्को बैठक केही बेरमा बस्दै रिक्त रहेका पदहरूमा नियुक्तिकाबारे छलफल हुने

काठमाडौँ । संवैधानिक परिषद्को बैठक बस्दै । रिक्त रहेका पदहरूमा नियुक्तिकाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत परामर्श गरेर परिषद्को बैठक राखेका छन् ।

उनको सचिवालयका अनुसार परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बिहान ९ बजेका लागि बोलाइएको छ । यसअघि चैत १२ गते नै बैठक बोलाइएको भएपनि त्यसबेला बैठक बस्न सकेको थिएन । बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुनेछ भने अन्य रिक्त पदहरूमा समेत नियुक्तिका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ । संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ ।

नेपालको संविधान २०७२ अनुसार १३ वटा संवैधानिक निकायहरू रहेका छन् । त्यसमध्ये महालेखा परीक्षकसहित निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त आयोगमा एक–एक सदस्यहरू रिक्त रहेका छन् ।