होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु

१२ चैत, काठमाडौं । होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ ।

हिजो राति ललितपुरको धोलाहिटीमा होली खेलिसकेपछि होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् ।

पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ । उनीहरू दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रहरी स्रोतले बतायो ।