Breaking News

जवाहरलाल विश्वविद्यालयको विद्यार्थी युनियनको निर्वाचनमा पुन: वामपन्थी विद्यार्थी संगठनले जित हासिल

नयाँ दिल्ली । जवाहरलाल विश्वविद्यालयको विद्यार्थी युनियनको निर्वाचनमा फेरि वामपन्थी विद्यार्थी संगठनले जित हासिल गरेको छ । यसपटक पनि वामपन्थी संगठन मिलेर चुनाव लडेका थिए ।

जेएनयू निर्वाचन समितिका अध्यक्ष शैलेन्द्र कुमारका अनुसार विद्यार्थी सङ्घको अध्यक्षमा धनञ्जय, उपाध्यक्षमा अभिजित घोष, महासचिवमा प्रियंशी आर्य र संयुक्त सचिवमा मोहम्मद साजिद विजयी भएका छन् ।
अध्यक्ष पदमा अखिल भारतीय विद्यार्थी संघ (एआईएसए) का धनञ्जयले अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) का उमेशचन्द्र अजमिरालाई पराजित गरे।धनञ्जयले २५९८ र उमेशचन्द्र अजमिराले १६७६ मत पाएका छन् ।
उता, उपाध्यक्षमा स्टुडेन्ट्स फेडरेशन अफ इन्डिया (एसफई) का अभिजित घोष निर्वाचित भएका छन् । उनले २४०९ मत पाए भने एबीभीपीकी दीपिका शर्माले १४८२ मत पाएकी छिन् ।

जेएनयूमा पछिल्लो विद्यार्थी सङ्घको चुनाव २०१९-२० मा भएको थियो, जसमा पनि वामपन्थी संगठनहरूले जित हासिल गरेका थिए। विद्यार्थी सङ्घको अध्यक्ष, उपाध्यक्ष, महासचिव र सहसचिव पदका लागि शुक्रबार मतदान भएको थियो, जसमा तीन वामपन्थी संगठन र एकमा बाप्सा विजयी भएका छन् । वामपन्थी संगठनहरू बाहेक, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् पनि मैदानमा थियो।

एजेन्सी