गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा

४ चैत, पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् ।

४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार बनाउने र टिकाउने खेल सुरु भएका बेला उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका हुन् ।

आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र दिएका छन् ।

‘एकीकृत समाजवादीमा प्रवेश गरेपछि त्यही दलको सदस्यका रुपमा संसदमा जानकारी आएको थियो र त्यहीरुपमा सूचीकृत गराइएको थियो । तर, अहिले उहाँले दल त्यागेर स्वतन्त्र नै रहेको जानकारी गराउनुभएको छ’, प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले भने ।

मनाङेले आफूले स्वतन्त्र हैसियतमा चुनाव जितेकाले स्वतन्त्र नै रहने भन्दै पत्र दिएपछि प्रदेशसभा सचिवालय परामर्शमा जुटेको छ । ‘स्वतन्त्र रुपमा जितेकाले दलको ह्वीप लाग्छ कि लाग्दैन र पदबारे अगाडिको प्रक्रिया के हुन्छ भन्नेबारे उक्त पार्टीले पनि निर्णय लिन्छ होला र हामी पनि कानुनी परामर्शमै छौं’, सचिव पोखरेलले भने ।

प्रदेशसभा सदस्य मनाङेले गण्डकीमा अप्ठेरो अवस्था देखिएकाले मध्यावधि चुनावमा जान सक्ने अवस्था रोक्न आफूले स्वतन्त्र रहने निर्णय गरेको बताएका छन् ।