३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको महिन्द्र राय यादव समूहबीच एकता घोषणा भएको
छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादवसहितको समूहले माओवादी केन्द्रसँग एकताको घोषणाको सहमति गरेको हो ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले एकताको निर्णय गरेको भन्दै माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले शनिबार संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा उल्लेख भए अनुसार पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको
छ । कार्यदलमा माओवादी केन्द्रबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा छन् भने नेपाल समाजवादी पार्टीबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सदस्य छन् ।
सहअध्यक्ष श्रेष्ठले एकता गर्ने आफ्नो पार्टीको आधिकारिक निर्णय भएको दाबी गरे । ‘सिंगो नेपाल समाजवादी पार्टी एकतामा जाने हो । हामीले मंसिरको ६ गते नै पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टी एकता संयोजन समिति बनाएका थियौं । र त्यो पार्टी एकता संयोजन समितिको बैठक विविध कारणले आजसम्म बस्न सकेको थिएन । आज बस्यो र यसले पार्टी एकता गर्ने निर्णय गर्यो ।
यसैबीच पार्टी एकता घोषणापछि डा. बाबुरामले पार्टी अपहरण भयो भनेर आपत्ति जनाएका छन् । प्रतिक्रिया दिएका छन् । एकता घोषणाप्रति नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष डा। बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । भट्टराईले ४ चैतमा केन्द्रीय कार्यकारिणी समिति र ५ चैतमा केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर बैठकको अघिल्लो दिन अर्का अध्यक्ष यादव समूहले माओवादी केन्द्रसँग एकता घोषणा गरेको हो ।
एकता घोषणालाई भट्टराईले आफ्नो पार्टी अपहरण गरेको संज्ञा दिएका छन् । सञ्चार माध्यममा प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘यो त कुनै पार्टीलाई अपहरण गरेर लगेजस्तो अुनभूति भएको छ ।’
उनले प्रधानमन्त्रीले नै यस्तो गतिविधि गर्नु नैतिक नहुने प्रतिक्रिया पनि दिएका छन् । भोलि कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक छ । पार्टीमा छलफल नै नगरीकन भएको यो त राजनीतिक ठगी हो ।