आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि उनकी सासू रेणुदेवी साहलाई पक्राउ

४ चैत जनकपुरधाम । आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोककी ५५ वर्षीया साहलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

आरती साहको हत्या मुद्दामा सासू रेणु फरार प्रतिवादी थिइन् । प्रहरीले यही मुद्दामा आरतीका देवर रवि साहलाई पनि २३ फागुनमा पक्राउ गरेको थियो । आरतीका श्रीमान् मोतीबाबु भने हाल पुर्पक्षका लागि थुनामा छन् ।

गत ७ जेठमा जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी आरती घरमै मृत अवस्थामा भेटिएकी थिइन् । आरतीका बाबुआमाले भने दाइजोका कारण परिवारकै सदस्यको संलग्नतामा हत्या भएको दाबी गर्दै सासू, ससुरा, श्रीमान्, देवरलगायत विरुद्ध जाहेरी दिएको थियो ।

सुरुमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत धनुषामा श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनमाथि कर्तव्यज्यान मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले उनीहरुलाई ५ असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर जिल्ला अदालतको थुनछेक आदेश नमिलेको भन्दै उच्च अदालत जनकपुरले उनीहरुलाई तारेखमा छाड्न आदेश दिएको थियो ।