काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने प्रयोजनका लागि आज संसद सचिवालयलाई पत्र पठाएका छन् ।
प्रतिनिधिसभाको आगामी बैठक तय भएकै दिन विश्वासको मतका लागि व्यवस्था मिलाउन प्रधानमन्त्रीले संघीय संसद् सचिवालयलाई पत्र पठाएका हुन ।
फागुन २१ गते प्रचण्डले एमालेलगायत दलहरुसँग नयाँ गठबन्धन बनाएपछि यही फागुन २२ मा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोही कारण संविधानको धारा १ सयको उपधारा २ अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।