Breaking News

महँगीदर घट्यो, कुन क्षेत्रमा कति मूल्य वृद्धि?

२०८० माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशतमा झरेको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो। चालु वर्षको पुस महिनामा ५.२६ प्रतिशत मूल्य वृद्धिदर कायम रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशतले घटेको छ।

खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२.३३ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ।

यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १.४१ प्रतिशतले घटेको छ।

२०८० माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो।

सेतोपाटीबाट