एमसीसी सम्झौताबारे नेकपा स्थायी कमिटी सदस्यहरुबीच छलफल

१० जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यहरूले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता बारे छलफल आज भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमै बसेको भएको छलफलमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । सञ्चो नभएको भन्दै बैठकमा सहभागी नहुने पूर्व जानकारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको नेताहरूले बताएका थिए ।

अनौपचारिक भनिएको छलफलमा एमसीसी कार्यदलका सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावल, नेताद्धय देव गुरुङ र लीलामणि पोखरेलका साथै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई पनि बोलाइएको थियो ।

छलफलमा नेकपाको एमसीसी कार्यदलका संयोजक खनाल र रावलले इण्डो प्यासिफिक रणनीति अन्तर्गत हो भने मान्य नहुने र सम्झौता संशोधन नगरी संसदबाट पास गर्न नहुने धारणा राखेका थिए । कार्यदलका अर्का सदस्य ज्ञवालीले सहमति भइसकेको सम्झैता अस्वीकार गर्न नमिल्ने बताएका थिए ।

लगतै बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७–७८ को बजेटबारे ब्रिफिङ गरेका छन् । उनले नयाँ कार्यक्रम नआउने तथा नीति कार्यक्रम अनुसार कोरोना भाइरस र त्यसले निम्त्याएको संकटलाई सम्बोधन गर्ने बजेट ल्याउने बताएका थिए ।