भारतको दिल्ली, मुम्बई, बाँके हुँदै सुर्खेतमा छिरेका थिए तीन जना संक्रमित

१० जेठ, काठमाडौं । आज कर्णाली प्रदेशको सुर्खेतमा पहिचान भएका ३ जना कोरोना संक्रमित भारतको दिल्ली र मुम्बईबाट बाँके हुँदै कर्णाली छिरेका थिए ।

यही जेठ ८ गते नेपाल आएका उनीहरुमा जिल्ला प्रवेश गर्ने क्रममा नाकामै जाँच गर्दा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन् ।

बाँके हुँदै आएका उनीहरुको समूहको कर्णाली प्रवेशद्वार बबईमा र्यापिड डाइगोनोस्टिक
(आरडीटी) जाँच गरिएको थियो । तीमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई वीरेन्द्रनगरको क्वारेन्टाइनमा राखेर पीसीआर जाँच गरिएको थियो ।

कर्णाली प्रदेश अस्पतालको ल्याबमा पीसीआर जाँच गरिएकामध्ये एक महिलासहित ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनीहरुको स्वाब पुनः बाँकेको भेरी अस्पतालको ल्याबमा जाँच गर्दा पनि पोजेटिभ आएपछि शनिबार घोषणा गरिएको हो ।

संक्रमित तीनै जना पश्चिम सुर्खेतका हुन् । २ जना बराहताल गाउँपालिका र एकजना चौकुने गाउँपालिकाका हुन् ।

संक्रमित तीनै जनालाई वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालमा राखिएको महाशाखा प्रमुख तिवारीले जानकारी दिए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

उनीहरु समूहमा आएको भए पनि सम्पर्कमा कोको थिए भन्ने पत्ता लागिसकेको छैन । चिकित्सकको टोलीले कन्ट्याक ट्रेसिङ गरिरहेको महाशाखा प्रमुख तिवारीले बताए ।
यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।