२ फागुन, काठमाडौं । नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् । शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री
हुन् । उनी सन् २०२२ देखि २०२३ को बीच प्रधानमन्त्री बनेका थिए ।
पाकिस्तानको तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले ६ दलीय गठबन्धनबाट सरकार बनाउने तयारी गरेको छ ।
पाकिस्तानको निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत नपाएकाले गठबन्धन सरकार बन्ने छ । त्यसका लागि ६ दल सम्मिलित पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाइएको छ ।
पीएमएल-एनका प्रवक्ता मरियम औरंगजेबले सामाजिक सन्जाल एक्समा गठबन्धनमा सामेल सबै दलप्रति आभार व्यक्त गर्दै अब महँगी र आर्थिक संकटबाट राहत दिलाउने उल्लेख गरेका छन् ।
२४ करोड बढी जनसंख्या रहेको पाकिस्तानलाई आर्थिक संकट र महँगीबाट राहत दिलाउने प्रमुख चुनौती नयाँ सरकारसामु
छ ।