Breaking News

कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध संचालक नियुक्ति प्रक्रियामै प्रश्न

काठमाडौ । कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध संचालक नियुक्ति प्रक्रियामै प्रश्न उठेको छ । कम्पनीको माघ १८ मा बसेको संचालक समितिको बैठकले प्रबन्ध संचालकमा बिष्णु पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । पोखरेल कम्पनीकै निमित्त प्रबन्ध संचालक थिए । प्रबन्ध संचालकमा नियुक्त भएका पोखरेलले कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध संचालक नियुक्तिको कार्यबिधि–२०८० आफैंले बनाएका थिए ।

आफैंले कार्यबिधि बनाएर त्यही कार्यबिधि अनुसार उनी एमडी नियुक्त भएका छन् । ‘आफैं कार्यबिधि बनाउनु, आफैं नियुक्ति लिने जस्तो कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ हो । आफैं प्रबन्ध संचालकका उम्मेदवार पोखरेलले कार्यबिधि बनाएको कुरा त त्यसमा भएको उनको हस्ताक्षरले पनि पुष्टि गर्दछ ।

कृषि सामग्री कम्पनीको प्रबन्ध संचालकका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरिए पनि छनोट समितिले अन्तिममा ३ जनाको नाम सर्टलिष्टमा निकालेको सूचना समेत प्रकाशित नगरी हतार हतारमा पोखरेलको नियुक्ति भएको समाचार सार्वजनिक गरिएको थियो ।

खुल्ला प्रतिस्पर्धामा प्रारम्भिक सर्टलिष्ट निकालेर अन्तिममा यो यो परीक्षामा यसरी बढी नम्बर ल्याएका तीन आवेदक यी हुन् भनेर सार्वजनिक सूचना निकाल्ने प्रचलन छ । तर कृषि सामग्री कम्पनीको हकमा यो प्रचलन तोडेर अपारदर्शी रुपमा नियुक्ति गरिएको छ । प्रतिस्पर्धी तीनजनाको नाम निकालेर ती मध्येबाट उत्कृष्ट अंक ल्याउनेको नियुक्ति गर्नुपर्ने खुल्ला प्रतिस्पर्धाको ‘नम्स’समेत छनोट समितिले तोडेको छ ।

छनोट समितिका संयोजक रहेका महालेखा नियन्त्रक कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीले नाम सिफारिस गरिसकेपछि माघ १८ मा बसेको संचालक समितिको बैठकले पोखरेललाई कम्पनीको प्रबन्ध संचालक नियुक्ति गर्ने निर्णय गरेको थियो ।

जुन बैठकमा पोखरेल समेत सहभागी रहेको स्रोतले बताएको छ । आफ्नो नियुक्ति आफैं बसेर गरेको बिषयले समेत पोखरेल विवादमा परेका हुन् । पोखरेललाई नियुक्ति गराउनका लागि मल माफियाहरुले छनोट समितिका संयोजक ज्ञवालीलाई समेत प्रभावमा पारेको स्रोतको दाबी छ ।

मल माफियाको प्रभावमा परी तीनजनाको नाम नै सार्वजनिक रुपमा प्रकाशित नगरी हतार हतारमा सिफारिस र नियुक्ति गरिएको स्रोतको दाबी छ । पोखरेलको अंकभार नै केरमेट गरी नियुक्ति सिफारिस गरिएको आरोप पनि संचालक समितिमाथि छ ।

कृषि सामग्री कम्पनी मल आयात गरी कृषकलाई बितरण गर्ने संस्था हो । तर विगत ५ बर्षदेखि उक्त कम्पनीले मल भित्र्याउन सकेको छैन ।

दृष्टिबाट