काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिट घटनामा गृह मन्त्रालयले डिआइजी अर्जुनचन्द ठकुरीलाई कारबाही गर्ने देखिएपछि राजीनामा दिएर हिडेको खुलेको छ । छानबिनको क्रममा प्रहरीको नेतृत्व तहकै कमजोरी ठहर गर्दै छानबिन समितिसमक्ष उपस्थित हुनसमेत नमानेकाले उनलाई कारबाहीको तयारी थालेपछि राजीनामा दिएर उम्कन खोजे पनि चन्दको राजीनामा भने ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको छ । छानबिन समितिको १० नम्बर बुँदामा उनलाई कारबाही गर्ने संकेतसहित उल्लेख गरिएको प्रतिवेदन तयार पारिएको छ ।
०५२ सालमा इन्स्पेक्टर पदबाट भर्ना भएका उनी पहिलेदेखि नै कमाण्डमा कमजोर रहेको ब्याचीहरूको दाबी छ । डिएसपी हुँदा जमिम शाह हत्यामा संलग्न भारतीय अपराधीसँग उनको कनेक्सन देखिएको थियो । उनीसँगै गणेश चन्द, सुरेन्द्र सिंहलगायत प्रहरीसँग हत्याका योजनाकार भारतीयले भेटेका थिए । पूर्वडिएसपी जगदीश चन्द त गिरोहमै सामेल थिए । त्यो घटनामा अर्जुनमाथि पनि छानबिन भएको थियो, तर त्यसबेला प्रहरी नेतृत्वमा सुदूरपश्चिममा उच्च अधिकारी भएकाले जोगिएका थिए । पछि एसपीमा उनी कैलालीमा बसे ।
त्यहाँ पनि उनी बारम्बार विवादमा परेका थिए । डिआइजीमा बढुवा भएपछि विमानस्थलमा पोष्टिङ भएका उनी सुरुदेखि नै कमजोर देखिएका थिए । विमानस्थलमा अन्य निकायसँग समन्वय कमजोर देखिएको थियो । भिजिट भिसामा भाग खोजेपछि टकराब बढेको थियो । त्यसबेलादेखि नै उनको कमाण्ड कमजोर देखिएको भन्दै बारम्बार आवाज उठाइएको थियो । पछिल्लो पटक उनले समितिमा आएर प्रहरीको कुरा नराखेकोमा प्रहरीभित्रै असन्तुष्टि बढेको थियो ।
‘मन्त्रालय र विभागले अध्यागमन सुशासन, आचरण सुधार लगायतका विषयमा विशेष निगरानी बढाई त्यहाँ कर्मचारी खटाउँदा मापदण्ड बनाई खटाउनुपर्ने र कार्यालयमा हाजिर हुनुपूर्व आवश्यक तालिम तथा अभिमुखीकरण दिनुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक अर्जुनचन्द ठकुरीले मन्त्रालयबाट छानबिन समिति गठन भइसकेपछि सञ्चारमाध्यममा गम्भीर विषयहरू उठान गर्नुभएकोले उक्त विषय मन्त्रालयले जानकारीमा राख्न आवश्यक देखिन्छ’, प्रतिवेदनको सुझाव खण्डको १० नम्बर बुँदामा भनिएको छ ।
केही समयअघि परिवारसहित थाइल्याण्ड घुम्न जान सित्तैमा टिकट मागेर विवादमा आएका डिआइजी चन्दले विमानस्थल प्रहरीको राम्रोसँग कमाण्ड गर्न नसकेको भन्दै गृह मन्त्रालयले छानबिन गरेर कारबाहीको तयारी गरेको थियो । जसले गर्दा कारबाहीबाट जोगिनका लागि उनले राजीनामा दिएको स्रोतको दाबी छ ।
माघ १२ गते दिउँसो १२ बजे विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा अध्यागमन अधिकृत र प्रहरीबीच कुटपिट भएको थियो । त्यस घटनाबारे बुझ्न गएका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालमाथि सीसीक्यामेरा नियन्त्रण कक्षमा पनि हातपात भएको थियो । बाह्य रूपमा अध्यागमन अधिकृत र असई देखिए पनि नेतृत्वले अनुशासन, आचरण, व्यवसायिक विनयशीलता तथा पदीय जिम्मेवारी सिकाउन नसकेको कारण यो अवस्था आएको छानबिनको निष्कर्ष थियो । विमानस्थलको सुरक्षा र व्यवस्थापनमा खटिने निकायहरू बीचमा गम्भीर अविश्वास रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य थिए ।
‘समग्र घटना विवरण, स्थलगत अध्ययन, सोधपुछ, छलफल र भनाईहरूबाट विमानस्थलमा गम्भीर अविश्वास उत्पन्न भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, ‘नागरिक उड्डयन प्राधिकरण र प्रहरीका अधिकृतबाटै अध्यागमनका कर्मचारीप्रति गरिएका टीकाटिप्पणीबाट ती निकायहरू बीचमा प्रभावकारी समन्वय नभएको कुरा सहजै बुझ्न सकिन्छ । सोको परिणामस्वरूप अध्यागमन र प्रहरीका कर्मचारीबीच एकापसमा अविश्वास, अनावश्यक निगरानी र कुटपिटसम्मका घटना भएको विषयलाई निष्कर्षका रूपमा लिन सकिन्छ ।’
प्रतिवेदनमा अगाडि भनिएको छ, ‘बाह्यरूपमा अध्यागमन अधिकृत छाया मोक्तान र सुरक्षामा खटिएका असई सञ्जय तामाङको नेतृत्वका प्रहरी कर्मचारीबीच हात हालाहालको अवस्था देखिए पनि यसको पछाडि उनीहरूका नेतृत्व वर्गले पर्याप्त अनुशासन, आचरण, व्यावसायिक विनयशीलता तथा पदीय जिम्मेवारी सिकाउन नसकेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।’
खासगरी प्रहरी नेतृत्वमाथि प्रश्न उठाउँदै प्रतिवेदनमा लेखिएको छ, ‘प्रहरीले कब्जामा लिएको व्यक्तिलाई व्यवसायिक धर्मअनुरूप कारबाही गर्नुको सट्टा सामूहिक कुटपिटमा ओर्लिने, सीसीटीभी नभएको ठाउँमा सामूहिक रूपमा हुलहुज्जत एवम् कुटपिट गरी प्रमाण नष्ट गर्ने गरेमा कुन निकायबाट सर्वसाधारणले सुरक्षाको भरोसा गर्ने ? प्रहरीलाई यसरी गैरव्यवसायिक आचरण गरेबापत छुट दिँदै जाने हो भने सुरक्षाको भरोसा कोबाट गर्ने ?’ प्रहरी कर्मचारीले आफूभन्दा माथिल्लो दर्जाको अध्यागमन अधिकृतको मर्यादा कायम गर्न नसकेको र अध्यागमन अधिकृतले पनि प्रहरीसँग उचित व्यवहार नगरेको छानबिन समितिले औँल्याएको छ ।
‘प्रहरी कर्मचारीले आफ्नै मन्त्रालय मातहतको आफूभन्दा माथिल्लो दर्जाको अध्यागमन अधिकृतलाई आवश्यक विनयशील भावले प्रस्तुत हुनुपर्नेमा आवेगमा आई गैरव्यवसायिक आचरण देखाई कुटपिटमा उभिएको देखिन्छ भने अध्यागमन अधिकृतले पनि आफूभन्दा जुनियर प्रहरी कर्मचारीप्रति उचित व्यवहार गरेको देखिएन,’ प्रतिवेदनमा लेखिएको छ ।
सत्य सेवा सुरक्षणमको भावनाविपरीत सबै किसिमका सर्वसाधारणसँग संयमित र व्यवसायिक व्यवहार देखाउनुको सट्टा आफ्नै मन्त्रालय मातहतको सिनियर अधिकृत हो भन्ने जान्दाजान्दै ड्युटी कमाण्डरको आदेशबिना नै आफ्नो जिम्मेवारी (एक्सरे जाँच गर्न छाडी विवाद भएको ठाउँमा आउने, सम्बन्धित व्यक्तिलाई सम्झाईबुझाई गरी माथिल्लो अधिकृतलाई रिपोर्टिङ गर्नुको सट्टा सामूहिक कुटपिटको नेतृत्व गरेकोमा असई सञ्जय तामाङलाई तुरुन्त निलम्बन गरी प्रहरी ऐन एवम् नियमावली बमोजिम उचित विभागीय कारवाही गर्नुपर्ने भनिएको छ ।
बिनाआदेश जिम्मेवारी छाडी कुटपिटमा सामेल हुने प्रहरी जवान विजनकुमार गुप्ता एवम् राजकुमार महतोलाई आवश्यक विभागीय कारबाही गर्ने, विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा नियमित सुरक्षा जाँचलाई चुनौती दिई अटेरी गर्ने, आफ्नै मन्त्रालय मातहतका जुनियर प्रहरी कर्मचारीसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा एक जिम्मेवार अधिकृतको रूपमा देखाउनुपर्ने आचरण र अनुशासनअनुरूप व्यवहार नदेखाएकोले अध्यागमन अधिकृत छायालाल मोक्तानलाई सो कार्यालयबाट जिम्मेवारीमुक्त गरी आचरणसम्बन्धी आवश्यक कारबाही गर्ने भनिएको छ ।
सो दिनको फिल्ड अफिसर प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेल भएको अवस्थामा दुई पक्षबीच विवाद भई अध्यागमन अधिकृतलाई सामूहिक कुटपिट भएको निजको प्रत्यक्ष उपस्थितिमा सीसीटीभी क्यामेरा रूमभित्र ठूलो समूहसहित गएको, अघिल्लो घटनासँग जोडिएका विवादित व्यक्तिहरुलाई नियन्त्रण र निगरानीमा नराखी सीसीटीभी कन्ट्रोल रूम र सो क्षेत्रमा भिडभाड हुन दिएको, जसले गर्दा पुनः कुटपिट भएको भन्ने बुझिएको तथा सुरक्षाको दृष्टिकोणले परिस्थितिको संवेदनशीलतालाई बुझेर कमान्ड एन्ड कन्ट्रोललाई काबुमा लिन नसकेको तथा प्रमुख अध्यागमन अधिकृत लगायतका कर्मचारीको सुरक्षामा हेलचक्र्याइँ गरेको बुझिन आएकोले निजलाई आफ्नो जिम्मेवारी र व्यावसायिक कर्तव्यप्रति सचेत गराउने भनिएको
छ ।
अध्यागमन कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय दुवै गृह मन्त्रालयअन्तर्गत निकाय भएकोले उचित समन्वय र सहकार्यको कमी भई घटना भएको देखिन्छ । यसरी छानबिन समितिले समग्रमा विमानस्थलको सुरक्षा गर्न बसेको प्रहरीले आफ्नो जिम्मेवारी र कर्तव्र्यलाई पालाना गर्न नसकेको उल्लेख गरेपछि उनको राजीनामा आएको र बाहिर प्रचार चाहि अर्का ढंगले गरिएको पाइएको छ ।