टेकु शुक्रराज ट्रपिकल अस्पतालबाट आज ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए

८ जेठ, काठमाडौँ । कोरोना भाइरसका संक्रमित थपिने क्रम र निको भएर घर फर्कने क्रम जारी सागै आज काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् । जसमा दुई जना पुरुष र दुई जना महिला छन् ।

टेकु अस्पतालमा गत ३१ बैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।

महिला एक जना आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्की एक महिला चन्द्रागिरी निवासी हुन् । थप एक जनाको भने विस्तृत विवरण आइसकेको छैन । उनीहरु नवौं दिनमा डिस्चार्ज भएका छन् ।

अस्पतालमा थप एक जना संक्रमित उपचारको क्रममा रहेका छन् । यो चार जनासंगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।