शिक्षण पेसा छाडेर वामपन्थी राजनीतिमा होमिएका रामरिझन यादव अहिले राजनीतिबाट पनि टाढिएका छन् । लामो समय पत्रकारिता अनि माओवादीमा सक्रिय राजनीति गरेका उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार समेत भएका थिए । अहिले उनी बाबुरामको साथमा पनि छैनन् ।
तपाईंले भने जस्तो सबै कुरा छाडेको होइन । पार्टी छाडेको छु तर राजनीति छाडेको छैन । यद्यपि राजनीति गर्नका लागि पार्टी चाहिन्छ, डेढ वर्षदेखि म कुनै पार्टीमा छैन ।
माओवादीले जुन सोचका साथ, जुन उद्देश्यका साथ जनयुद्ध गरेको थियो, शोषित पीडितको पक्षमा राज्य निर्माण गर्छौँ भन्ने नारा दिएको थियो, त्यो व्यवहारमा कहीँ कतै देखिएन । माओवादीको भनाइ र गराइमा ठुलो अन्तर देखियो ।
त्यसैले अहिलेको परिस्थितिमा माओवादीलाई यसरी बोकेर लान सकिँदैन भन्ने लाग्यो । माओवादी एउटा पिरियडका लागि थियो जसले जनयुद्ध सम्पन्न गर्यो । अहिले माओवादीका साथीहरूले त्यसलाई नयाँ जनवादी क्रान्ति सम्पन्न भएको भनिरहनुभएको छ । त्यो होला पनि । तर मेरो विचारमा अहिलेको अवस्थामा मार्क्सवादलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्छ ।
डा. बाबुराम भट्टराईले स्थायित्व दिन सक्नुभएन । उहाँले माओवादी त्यतिबेला छाड्नुभयो जतिबेला पुरै मधेस आन्दोलनले तातिएको थियो । रघुवीर महासेठ, विमलेन्द्र निधिजस्ता व्यक्ति पनि जनकपुर जान सकिरहेका थिएनन् । त्यतिबेला बाबुराम भट्टराई जनकपुर पुग्नुभएको थियो । १० हजार जनतालाई सम्बोधन गरेर फर्किनुभयो, त्यो मामुली कुरा थिएन । पहाडी भएर पनि मधेसप्रति उहाँको छुट्टै चाहना छ । नेपालको इतिहासमा मधेसी जनताले यो सम्झनेछन् ।
बाबुराम भट्टराईले माओवादी पार्टीलाई जसरी बुझ्नुभयो, मेरो पनि बुझाइ त्यस्तै थियो । तर बाबुराम भट्टराई पछि गएर विभिन्न पार्टीसँग ध्रुवीकरण गर्न थाल्नुभयो । मैले उहाँलाई भनेको थिएँ, तपाईं ध्रुवीकरण जानुभयो भने तपाईंको नयाँ शक्ति विभक्त हुन्छ । मैले बारम्बार भन्दा पनि उहाँ एकोहोरो ढंगले लाग्नुभयो ।
उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेपछि मैले तपाईं सफल हुन सक्नुहुन्न समेत भनेको थिएँ । उपेन्द्रजीको आफ्नै महत्त्वाकाङ्क्षा छ, तर उपेन्द्रजी तपाईंभन्दा धेरै तलको लिडर हुनुहुन्छ । तपाईं माओवादीको त्यत्रो ठुलो नेता हुँदा उपेन्द्रजी जिल्ला सदस्य मात्र हुनुहुन्थ्यो ।
तपाईं त्यहाँ जानुभयो भने पनि टिक्नुहुन्न पनि भनेको थिएँ । तर उहाँले मान्नुभएन र एकीकरण गर्नुभयो । अन्ततः उहाँ त्यहाँ टिक्न सक्नुभएन । म बाबुराम भट्टराईसँग असन्तुष्ट हुनुको कारण त्यति नै थियो ।
बाबुरामजी अस्ति विराटनगर जानुभयो मलाई बोलाउनुभयो र भन्नुभयो – यसरी बसेर भएन । मैले पनि भनेँ – अब म बाबुराम भट्टराई कहाँ जान्नँ । जुन दिन बाबुराम भट्टराई रामरिझन कहाँ आउनुहुन्छ, त्यो दिन रामरिझनले सोच्नेछ ।
बाबुराम भट्टराई विराटनगरमा हुँदा एउटा आँखा अस्पतालमा आँखा जँचाउन जानुभयो । म पनि त्यहाँ जँचाउन गएँ । त्यहाँ बाबुराम भट्टराईले गाडीबाट ओर्लेर भन्नुभयो – म तपाईं कहाँ आउँदैछु है । तपाईले भन्नुभएको थियो कि अब रामरिझन बाबुराम कहाँ जाँदैन, अब म नै तपाईं कहाँ आउँदैछु, अब के गर्नुहुन्छ ?
अनि मैले भने, ‘तपाईं म कहाँ आउनुभयो भने म तपाईंको साथमा छँदैछु ।’ त्यसपछि उहाँ मेरो घरमा आउनुभयो । केही कुराकानी पनि भयो ।
यो देशको परिवर्तन गर्न माओवादी, कांग्रेस, एमाले वा मधेसी दल कसैले पनि सक्दैन त ?
यी दलहरूबाट मैले सम्भावना नै देखेको छैन । मधेसवादी दलसँग विचार छ, व्यवहार छैन । पार्टीले लिएको विचारलाई व्यवहारमा उतार्दैनन् । उनीहरूबाट पनि पार लाग्ने अवस्था छैन ।
यद्यपि गर्ने यिनी दलहरू नै हुन् । तर जनतामा जुन किसिमको असन्तुष्टि छ, त्यसलाई उनीहरूले सम्बोधन गर्न सकिरहेका छैनन् । २०४६ सालको आन्दोलनमा दुई सय प्राध्यापकमध्ये एक जना रामरिझन मात्र अरेस्ट भएको थियो । यदि पञ्चायत कायम भएको भए मेरो जागिर जान्थ्यो । बहुदल आयो मेरो जागिर जोगिएन मात्र, म स्थायी पनि भएँ ।
यो लोकतन्त्र ल्याउनमा व्यक्तिगत रूपमा मैले जे संघर्ष गरेँ, त्यो कोइराला परिवारलाई पनि थाहा छ । शेखर कोइरालाकी आमालाई थाहा छ, उहाँको कान्छो बुवालाई पनि थाहा छ । तर जब वामपन्थी भनेर लेखेँ, यही रामरिझनलाई कोइराला निवासबाट कोइरालाकी आमाले घोक्रेठ्याक लगाएर निकाल्नुभयो । रामरिझन मेरो घरबाट निस्की भन्नुभयो ।
यसरी लडेर ल्याएको लोकतन्त्रलाई लुटतन्त्रमा रूपान्तरित गर्न सकिन्छ ? आक्रोश आउँदैन रामरिझनलाई रु म अनन्तहरूलाई भन्न चाहन्छु कि जनयुद्धको समयमा तपाईंको कति सम्पत्ति थियो र अहिले कति सम्पत्ति छ देखाउनुस् जनतालाई । एकरति कम योगदान छैन अनन्तहरूभन्दा रामरिझनको । जनयुद्धलाई बरबाद गर्ने उहाँहरू नै हुनुहुन्छ ।
जनयुद्धप्रति जुन नकारात्मक धारणा आएको छ, त्यो अनन्तहरूका कारण आएको छ । प्रचण्डकै कारणले आएको छ । प्रचण्डका छोराका कारण भएको छ । प्रचण्डका छोरा प्रकाशको निधन भइसक्यो तर प्रकाशले मसँग पनि दुर्व्यवहार गरेका थिए । उहाँहरू अग्रगामी होइन प्रतिगामी हुँदै गइरहनुभएको छ ।
जुन उद्देश्यका साथ जनयुद्ध भएको थियो, त्यसबाट केही कुरा अघि नबढेको हो त ?
होइन बढेको हो । माओवादीले धेरै कुरा गरेको छ । अहिले देशमा जुन परिवर्तनहरू देखिएका छन्, ती सबै माओवादीकै कारणले भएको हो । माओवादीले जनयुद्ध नगरेको भए मधेस विद्रोह नै हुने थिएन । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनमा माओवादीको धेरै ठुलो योगदान छ । टाइम्स अफ इण्डियामा प्रचण्ड र बाबुरामले अन्तर्वार्ता दिँदा उहाँहरूले भन्नुभएको थियो कि हामी दुई जना जनयुद्धपछि सत्तामा जाँदैनौँ, अरूलाई पठाउँछौँ । तर प्रचण्ड आफै तीन चोटि प्रधानमन्त्री हुनुभयो, बाबुराम भट्टराई एक पटक हुनुभएको छ । उहाँहरूले सत्ता छोड्नु हुन्न । सत्ता त के पार्टीको पद नै छोड्नु हुन्न । पार्टीको अध्यक्ष अझै आठ वर्ष थप्ने कुरा भएको छ ।
यो देश माओवादीबाट चल्दैन, कांग्रेस, एमालेबाट चल्दैन भने यो देश कोबाट चल्छ त ?
चलाउने यिनै पार्टीहरूले हो, यिनै नेताहरूले हो । तर ती पार्टी र नेताहरू सुध्रिनुपर्छ । त्यो सम्भावना पनि छ । उनीहरू नसुध्रिने विकल्प नै छैन ।
यो व्यवस्थाकै विकल्प खोज्न मान्छे सडकमा आइसकेका छन् । नेताहरू सुध्रिन्छन् जस्तो लाग्छ तपाईंलाई ?
लोकतन्त्रको सुन्दरता के हो भने यहाँ चोरले पनि भाषण गर्न पाउँछ, डाँकुले पनि नारा लगाउन पाउँछ । यो लोकतन्त्रको सुन्दरता हो क्या ! ज्ञानेन्द्रकालमा, उहाँको पुर्खाले चलाएको पञ्चायतकालमा हामीलाई लेख्न, बोल्न पनि दिँइदैन थियो । तर आज उनीहरू नारा लगाएर हिँडिरहेका छन्, यही त हो लोकतन्त्रको सुन्दरता । तर उनीहरूले यो व्यवस्था परिवर्तन गर्न सक्दैनन् । जनतामा नेताहरूप्रतिको आक्रोश मात्र हो ।
तपाईं राजनीतिमा कतै अटाउन सक्नुभएन, तपाईंले पो पुनर्विचार गर्ने हो कि ?
मलाई बाबुरामको सोच राम्रो लाग्छ । तर बाबुरामको जुन ढुलमुले नीति हो नि, त्यो मलाई मन पर्दैन । अहिले फेरि प्रचण्डसँग जाने कुरा सुनिरहेको छु । माओवादीमा जानु भयो भने बाबुरामको सर्वनाश हुन्छ । बाबुराम कतैको रहनु हुन्न क्या ! नारायणकाजी श्रेष्ठको हालत कस्तो भएको छ, त्यस्तै हुन्छ । नेपालको इतिहासमा नारायणकाजी जस्तो राम्रो गृहमन्त्री कहिल्यै भएको थिएन । कुन गृहमन्त्रीले सरुवा–बढुवामा पैसा खाएको छैन, सबैले खाएका
छन् । तर म दाबीका साथ भन्छु, नारायणकाजी श्रेष्ठले कसैसँग एक पैसा खानुभएको छैन । भुटानी शरणार्थीदेखि लिएर विभिन्न सुनकाण्ड, जग्गा काण्डहरू उहाँले बाहिर ल्याउनुभयो । त्यसमा शेरबहादुर देउवा, बालकृष्ण खाँणका श्रीमतीहरू पनि फस्ने बाला थिए ।
तर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई थाहै नदिईकन एआईजी श्याम ज्ञवालीलाई सरुवा गरिएको थियो । एआईजीको सरुवा हुन्छ र गृहमन्त्रीलाई थाहा हुँदैन भने त्यही दिन उहाँले मन्त्री पदबाट राजीनामा दिनुपर्थ्यो ।
त्यत्रो पहाडिया नश्लवादविरुद्ध लडेर ल्याएको मधेस प्रदेश सरकारसँग पनि तपाईं सन्तुष्ट हुनुहुन्न । त्यहाँ त सबै मधेसी छन् । तपाईंको काम असन्तुष्टि जाहेर गर्ने मात्र हो कि क्या हो ?
मेरो काम असन्तुष्टि जाहेर गर्ने मात्र होइन । मधेस प्रदेशले गरेका कतिपय कामहरूलाई म सकारात्मक रूपमा लिन्छु । मधेस प्रदेशले ल्याएका विभिन्न ऐनहरू ल्यायो, त्यो संघीयतालाई बलियो बनाउने काम हो त्यो । लोकतन्त्रलाई लुटतन्त्र होइन, लोकतन्त्रलाई बलियो बनाउनुपर्छ भन्न सबैको चाहना हो ।
अहिले गाउँगाउँमा पैसा गएको छ । राजनीति नजानेका व्यक्तिहरू मेयर भएका छन्, गाउँपालिका अध्यक्ष भएका छन्, वडाध्यक्ष भएका छन् । एउटा गाउँपालिकाका अध्यक्ष गाडी किनेको छ, उपाध्यक्षलाई समेत ८० लाखको गाडी किनिदिएको छ । एउटा सानो गाउँमा उपाध्यक्षलाई किन गाडी
चाहियो ? उहाँलाई कहाँ जानुपर्छ र ? एउटा मोटरसाइकलले पनि पुग्छ । पालिकाहरूलाई लुटतन्त्रमा रूपान्तरण गरिएको छ । यदि संघीयता बलियो भएको भए यो अवस्था आउने थिएन ।
मधेसवादी दल र नेताको बारेमा तपाईंको टिप्पणी के छ ?
मैले अघि पनि भनेका थिए कि उहाँहरूसँग विचार छ तर व्यवहार छैन । त्यही व्यवहार नभएको कारण सीके राउतहरूको जन्म भएको हो । अमेरिकामा स्थापित भइसकेका व्यक्ति नेपालमा आएर मधेसको राजनीति सुरु गरेपछि त्यत्रो ठुलो नेता उपेन्द्र यादवका लागि घाँडो भएको छ । किनभने उपेन्द्र यादवसँग विचार छ तर त्यसलाई व्यवहारमा लागु गर्न सक्नुभएको छैन ।
त्यसो भए मधेसलाई अब सीके राउत नै चाहिएको हो त ?
सीके राउत नै चाहिन्छ भनेको होइन । अहिले राउत पनि त्यही पथमा हिँड्न थाल्नुभएको छ । सत्तामा सहभागिता जनाउनुभएपछि उहाँलाई पनि सत्तासँग मोह भएको छ । उहाँलाई राष्ट्रिय सभामा एउटा पनि सिट दिइएन, तैपनि सत्तासँग टाँसिनु भएको छ । यो कस्तो सत्ता मोह हो भन्ने यसैबाट पुष्टि हुन्छ । मधेसवादी दलहरू सत्ता र शक्तिका कारण बरबाद भएका छन् । दलहरू अहिले मधेसवाद छाडेर जातिवादमा गएका छन् । लालु यादव र जगनाथ मिश्राले जे गर्नुभएको थियो, त्यो अहिले मधेसमा भइरहेको छ ।
अब तपाईंको यात्रा कता जान्छ ?
अहिले सामाजिक कार्यहरू गरिरहेको छु । राजनीति पनि गरिरहेको छु । २०७९ को चुनावमा स्वतन्त्र भएर चुनाव पनि लडेँ । मेरो जुन सोच हो, त्यो अनुसार मैले राजनीति नै गर्ने हो । तर म अहिले एक्लै छु । मलाई पार्टीले नबोलाएको पनि होइन । हरेक पार्टीले मलाई बोलाउँछ । तर मेरो स्वभावले मानिरहेको छैन । उमेरले पनि मानिरहेको छैन । मुटुको अप्रेसन भएको छ त्यही भएर सक्रिय भइरहेको छैन । म अहिले अलिकति बाबुरामसँग नजिक छु ।
लामो समय पत्रकारितामा रहनुभयो । अहिलेको जुन पत्रकारिता भइरहेको छ, त्यसमा चाहिँ तपाईंको टिप्पणी के छ ?
जनआन्दोलनपछि नेपालको पत्रकारिताले फड्को मारेकै हो । तर बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चात् सबै थोक राजनीतिकरण भयो । त्यसबाट पत्रकारिता पनि अछुतो रहन सकेन । पत्रकार पनि कहीँ भ्रातृ संगठनमा बस्छ रु यो कस्तो पत्रकारिता हो रु मैले बुझ्न सकेको छैन ।
भ्रातृ संगठन बनाएर पत्रकारिता गर्यो भने त्यो स्वतन्त्र पत्रकारिता हुन सक्दैन । तर त्योभन्दा बाहिर बसेर पनि केहीले पत्रकारिता गरिरहेका छन् । तर कुनै न कुनै रूपमा त्यसलाई पनि राजनीतिकरण गरिएको छ ।
रातोपाटीबाट